२२ कार्तिक २०८३, आइतबार

चार सयभन्दा बढी कोरियाली बौद्धमार्गीद्वारा विश्व शान्तिको प्रार्थना

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जितपुर (कपिलवस्तु) ७ माघ । दक्षिण कोरियाबाट आएका ४३० भन्दा बढी बौद्धमार्गीले प्राचीन कपिलवस्तुको बुद्धस्थलमा पुगेर विश्व शान्तिका लागि सामूहिक प्रार्थना गरेका छन् ।

उनीहरुले शुक्रबार तिलौराकोट, भमनिया जोडी स्तुप र निग्रोधराम (कुदान)मा पुगी सामूहिक प्रार्थना गरेका हुन् । कोरियाको सियोलबाट लुम्बिनी हुँदै उनीहरु यहाँ आएका हुन् । निग्रोधराममा सामूहिक प्रार्थना सकेर लुम्बिनी फर्कने क्रममा कोरियाको सियोलस्थित एएसटी पोष्टमा रहेको विहारका मुख्य भिक्षु पिउ परुन सनिमले बुद्धको क्रिडास्थल आउन पाउनु सौभाग्यको विषय भएको बताए ।

कोरियाबाट हरेक वर्ष बुद्धस्थलको भ्रमण गर्न ठूलो संख्यामा बौद्धमार्गी नेपाल आउने गर्दछन् । तिलौराकोट बुद्धको क्रिडास्थल र जोडी स्तुपलाई बुद्धका मातापिताको समाधिका रुपमा मानिएको छ । निग्रोधराम कुदानमा बुद्धले बुद्धत्व प्राप्त गरेपछि छोरा राहलुसहित थुप्रै बौद्धमार्गीलाई पहिलोपटक देशना दिएको स्थलका रुपमा परिचित छ ।

साधुसन्तलाई न्यानो कम्बल

कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटा निवासी श्रीमती सोनमती जयसवालको परिवारले हरेक वर्ष जस्तै यस वर्ष पनि यस क्षेत्रका साधुसन्तलाई कम्बल वितरण गरेको छ ।

स्व श्रीमान् राजाराम जयसवालको पुण्य तिथि पारेर जयसवाल परिवारले ९० वटा कम्बल साधुसन्तलाई कर्णेश्वर मन्दिरमा वितरण गरेको छ । बढ्दो चिसोमा साधुसन्तलाई कम्बल बाँडेपछि पुण्य प्राप्तिसँगै बुबाको आत्माले समेत शान्ति पाउने भन्दै कम्बल वितरण गरिएको स्व राजाराम जयसवालका छोरा विजय जयसवालले बताए ।

यस्तो पुनित कार्यमा आफूलाई पनि सहभागी भई पुण्य प्राप्त गर्ने अवसर जुटेको कपिलवस्तु क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य अभिशेषप्रताप शाहले कम्बल वितरण कार्यक्रममा बताए । –रासस