१४ कार्तिक २०८३, शनिबार

ओली-दाहाल समझदारी : एकीकृत पार्टीको कार्यदिशामा सहमति

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ माघ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच एकीकृत पार्टीको कार्यदिशामा समझदारी जुटेको छ। दुवै पार्टीले अंगीकार गर्दै आएको सिद्धान्त र भूमिकालाई स्विकार्दै शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धात्मक बाटोबाट सामाजिक न्याय, समानतासहितको समाजवादलाई कार्यदिशा बनाउन ओली-दाहाल सहमत भएका हुन्। तर, त्यसको संश्लेषण गर्न भने कार्यदल बनाइने भएको छ ।  अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

सोही समझदारीका आधारमा आइतबार दिउँसो बस्ने एकता संयोजन समितिको बैठकले वैचारिक-राजनीतिक पक्षको ‘डकुमेन्टेसन’ का लागि कार्यदल बनाउनेछ । एमाले अध्यक्ष ओली उपचारका लागि बैंकक जानुअघि नै वैचारिक र संगठनात्मक मोडालिटी तयार पार्न कार्यदल गठन गर्ने तयारी थियो । तर, एकीकृत पार्टीको कार्यदिशा दुई अध्यक्षले तय गर्ने र त्यसलाई दस्ताबेजीकरण गर्नका लागि मात्र कार्यदललाई जिम्मा दिने समझदारीका आधारमा शुक्रबार र शनिबार ओली-दाहाल छलफलमा जुटेका हुन् ।

कार्यदिशामा सहमति जुटेको खुलासा माओवादी अध्यक्ष दाहालले शनिबार नै पार्टीनिकट जनसांस्कृतिक महासंघको कार्यक्रममा गरेका थिए । ‘हामीले माओवाद छाडेका छैनौं, उहाँहरू (एमाले) ले पनि जनताको बहुदलीय जनवाद छाड्नुभएको छैन, नेपालको राजनीतिक क्रान्तिमा माओवादको भूमिका छ भन्ने कुरामा एमालेका नेताहरू पनि सहमत हुनुहुन्छ, हामी पनि बहुदलीय राजनीतिक प्रतिस्पर्धामा आएका छौं । अबको वैचारिक राजनीतिक संश्लेषण कसरी गर्ने ? भन्नेमा हामी छलफलमा छौं,’ दाहालले भने, ‘जनयुद्धको भूमिका र इतिहासमा यसको योगदानबारे एमाले र हामीबीच कुनै विवाद छैन । एकले-अर्काको पूर्ण सम्मान गरेर र परिस्थिति सुहाउँदो वैचारिक कार्यदिशा बनाएर अगाडि बढ्दै छौं ।’

दाहालका अनुसार एकीकृत पार्टीको राजनीतिक कार्यदिशा अब यही मूल स्पिरिटका आधारमा संश्लेषण हुनेछ । दाहालले भने, ‘अहिले एमाले र माओवादी अलग पार्टी हुनुपर्ने कारण नै म देख्दिनँ । हामीले पनि ८-१० वर्ष शान्तिपूर्ण रूपमै समाजवादको तयारी गर्ने भनेका छौं, उहाँहरू (एमाले) ले पनि त्यही भन्नुभएको छ। समान राजनीतिक कार्यदिशा भएपछि अलग-अलग पार्टीको अस्तित्व राख्नु उचित हुँदैन ।’

 

माओवादी केन्द्रले अहिलेसम्म माओवाद र एक्काइसौं शताब्दीको जनवाद तथा एमालेले बहुदलीय जनवाद मान्दै आएको थियो । एकताका सन्दर्भमा अब यी विषय तगारो नबन्ने नेताहरूले बताएका छन् । इतिहासको मूल्यांकनका सन्दर्भमा ओली-दाहालबीचको भेटमा संसदीय संघर्षमा एमाले हुँदैनथ्यो भने माओवादीलाई र माओवादीको सशस्त्र संघर्ष नभएको भए एमालेलाई संसदीय मोर्चामा भूमिका निर्वाह गर्न गाह्रो हुने निष्कर्षका साथ दुवैको भूमिका एकअर्कामा परिपूरकका रूपमा रहेको स्विकारेर जाने समझदारीमा दुई अध्यक्ष पुगेका हुन् ।

आइतबार बस्ने संयोजन समिति बैठकले अब त्यही वैचारिक पक्षलाई ध्यान दिँदै एकीकृत कार्यदिशाको दस्ताबेज तयार पार्न कार्यदल गठन गर्नेछ । त्यसको एजेन्डामा ओली-दाहालबीच समझदारी भइसकेको छ । शनिबार ओलीसँगको भेटपछि दाहालले पार्टी एकताको कार्यसूचीसहितको एजेन्डा र तयारीका विषयमा छलफल भएको सञ्चारकर्मीलाई बताए ।

‘ओलीजीसँगको छलफलमा पार्टी एकताको एजेन्डाबारे छलफल भएको छ, अब एकताका लागि ठोस एजेन्डा नै तयार पारेर अगाडि बढ्छौं, आइतबारको एकता संयोजन समितिले नै यसबारे निर्णय लिन्छ,’ उनले भने । पार्टी एकतापछि पार्टीको मूल नेतृत्व, सरकारको नेतृत्व, संगठनात्मक विधि र वैचारिक राजनीतिक कार्यदिशाको दस्ताबेजीकरणका विषयमा अब नेताहरूले काम गर्नु पर्नेछ ।

पार्टी नेतृत्वको सवालमा दुई अध्यक्षले निर्णय लिने भए पनि अन्य नेताको व्यवस्थापन र अन्तरिम कालका लागि पार्टीको अन्तरिम विधान तयार पार्ने विषयमा पनि आइतबार संयोजन समितिले निर्णय लिने स्रोतले जनाएको छ ।

शनिबारको ओली-दाहाल छलफलमा राष्ट्रियसभा निर्वाचन, प्रदेश सरकार गठनका लागि संयुक्त कार्यदलको रिपोर्ट, पार्टी एकता र एकताका साझा दस्ताबेजका विषयमा कुराकानी भएको ओलीको निजी सचिवालयले जनाएको छ ।