
दाङ, ६ माघ । दाङका महिला राजधानी माग गर्दै सडकमा उत्रिएका छन् । दाङमा जारी आन्दोलनको शनिबार पाँचौँ दिन महिला राजधानीको मागसहित सरकारको निर्णय फिर्ताको माग गर्दै सडकमा आएका हुन् ।
उनीहरुले तत्काल सरकारले निर्णय सच्याउनुपर्ने, नेता पनि सडकमा आउनुपर्ने माग गर्दै तुलसीपुर बजारमा प्रदर्शन गरेका छन् । गाउँगाउँबाट बजारमा आएर सडक तताएका महिलाले हातहातमा थाली, डाडु, चम्चा र भाडा लिएर सडकमा आन्दोलित भएका छन् ।
उनीहरुले ¥यालीमा भाडा बजाउँदै विरोध जनाएका छन् । सरकारले प्रदेश नम्बर ५ को अस्थायी मुकाम दाङ नतोकेको भन्दै निर्णय फिर्ता नहुञ्जेल आफूहरुको आन्दोलन जारी रहने बताएका छन् । महिलाले आन्दोलनलाई थप सशक्त गराउँदै लैजाने महिला अधिकारकर्मी सुष्मा गिरीले बताइन् । ‘हरेक हिसाबले उपयुक्त रहेको जिल्लालाई उपेक्षा गरेर अवैज्ञानिक ढंगले अस्थायी मुकाम रुपन्देही तोकिएको छ । यो निर्णय हामी महिला दिदी बहिनी र दाङवासीलाई कदापि मान्य छैन’, गिरीले भनिन् ।
त्यसैगरी महिला नेत्री सावित्रा गुरुङले पनि अब महिला आन्दोलनलाई थप सशक्ति बनाउँदै लैजाने बताइन् । महिलाले आफूहरुले सडक संर्घषलाई निर्णय फिर्ता नलिँदासम्म जारी राख्ने बताएका छन् । त्यसैगरी तुलसीपुरमा महिलाले आन्दोलन थालेका छन् भने अन्य दल र संघ संस्थाले राजमार्ग केन्द्रित आन्दोलन गरेका छन् । –रासस












प्रतिक्रिया