– अनिल खत्री
गुल्मी, १ माघ । तिन जिल्लाको संगमस्थल ऐतिहासिक क्षेत्र धाम गुल्मीको रुरुस्थित रिडीमा मागे सक्रान्ति मेलाको अवसरमा विविध कार्यक्रम सुरु भएको छ । गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रुरु गाउँपालिकाको रिडीमा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि रुरु फ्रेण्ड क्लबको आयोजना र रुरुस्थित आधा दर्जन भन्दा बढी संघ सस्थाको संयोजनमा माघ १ गते देखि ५ गते सम्म विविध कार्यक्रमको आयोजना गरिएको रुरु फ्रेण्ड क्लबका अध्यक्ष रामलाल बिश्वकर्माले जानकारी दिए ।
माघे सक्रान्ति देखि पाँच दिनसम्म कालीगण्डकीमा स्नान गरेर ऋषिकेश मन्दिरको दर्शन गरेमा मोक्ष प्राप्त हुने विश्वास छ । मेलाको अवसरमा सोमबार बिहानैदेखि रिडीमा नुहाउने तथा मेला अवलोकन गर्ने थुप्रैको भीडभाड चलेको छ । हिन्दु धर्ममा विश्वास राख्नेहरु रिडीमा जमघट भएका छन् । चार धाममध्यको प्रशिद्ध धार्मिक स्थल रुरु (रिडी)मा माघे सक्रान्ति मेला सुरू भएसँगै नुहाउने भीडभाड बढेको छ ।
माघे सक्रान्तिमा रिडी गएर ननुहाएमा सन्तोष नहुने भक्तजनहरुको भनाई रहेको छ । भुलवश भएका पाप नष्टसँगै मन शान्तिका लागि रिडी मेलामा आउने भक्तजनको भनाई रहेको छ । मेलामा घरेलु उत्पादन, कृषिउपज वस्तुहरुलाई प्रर्दशनीमा राखिएको छ । यस क्षेत्रमा प्राचिन समयमा देवदत्त ऋषिले तपस्या गरेको धार्मिक मान्यता छ । रुरु क्षेत्र धार्मिक, पौराणिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिन्छ । जसकाकारण यस क्षेत्रको महिमा नेपाल बाहिर पनि उत्तिकै महत्वपूर्ण मानिन्छ ।
मेलामा विशेषगरि कम्मल, काम्ला, राडी पाखी, बाँस तथा चोयाबाट निर्मित सामग्रीहरु, ओखरका घाँजीलगायतका वस्तुको राम्रो व्यापार हुने गर्दछ । हरेक वर्ष हुने सक्रान्ति मेलाले रिडीको महत्वलाई जीवित बनाइरहेको क्लबका पूर्व अध्यक्ष हिमाल श्रेष्ठले बताए । व्यापार तथा धार्मिक पर्यटनका लागि व्यापारिहरु रुकुम रोल्पालगायतका ठाउबाट तीन दिनसम्मको यात्रागरि रिडी आउने गर्दछन् । माघे सक्रान्ति मेला सक्रान्तिदेखि तीन दिनसम्म संचालन हुने भएपनि पछिल्ला वर्षहरुमा साँस्कृतिक कार्यक्रमका कारण पाँचदिन सम्म चल्छ । रुरु क्षेत्रको ऋषिकेश मन्दिरमा नेपालकै सबै भन्दा ठुलो भगवानको मुर्ति पनि रहेको छ ।












प्रतिक्रिया