– नारायण ढुंगाना
रत्ननगर (चितवन), २९ पुस । थारू समुदायको मौलिक खाना हो घुँगी । झट्ट हेर्दा चिप्ले कीरा प्रजातिमा पर्ने यो त्यस्तै देखिए पनि निक्कै फरक हुन्छ ।
घोल, दबदवे हिलो, पोखरी, धानखेतमा बढी पाइने घुँगी थारूहरु सम्भव भएसम्म सधैँ खान्छन् । अझै यसको महत्व महत्वपूर्ण चाडबाडका बेलामा हुन्छ । यस्तै बेलामा अरू समुदायसमेत घुँगी खान आकर्षित हुन्छन् ।
अहिले थारू समुदायको नयाँ वर्ष माघी पर्व शुरु भएको छ । यो अवसरमा चिचरसँग घुँगी खाने चलन प्रख्यात छ । घुँगीको रससँग चिचर निकै स्वादिष्ट हुन्छ । खोल (खबटा) भित्र हुने घुँगीलाई मुखबाट श्वासले तान्नेपछि मात्रै आउँछ । कतिपयले घुँगी खान जान्दैनन् । खान नजान्नुको रमाइलो छुट्टै हुन्छ ।
अन्य समयमा पनि घुँगीको रुचि बढी हुन्छ । अहिले घुँगी थारूको मात्रै नभएर अन्य समुदायको पनि आकर्षणको खाना बन्न पुगेको छ । थारू होम स्टेमा घुँगी अनिवार्य राखिएको हुन्छ । घुँगी खानकै लागि पर्यटकहरु थरू होम स्टेमा र थारूका घरमा जाने गर्छन् । तर पछिल्लो समयमा घुँगी हराउँदै गएको छ । चितवन रत्ननगरका थारू अगुवा वासुदेव चौधरी घुँगी लोप हुँदै गएको बताउँछन् ।
पहिले पहिले चितवन सौराहामा होटल भएको क्षेत्रमा प्रसस्तै घुँगी पाइन्थे । घर नजिकै घोलबाट घुँगी टिपेर खान्थे थारूले । घुँगी खोज्न धेरै टाढा जानु पर्थेन । अहिले यहाँका घोल पुरेर होटल बने । त्यसपछि घुँगी खोज्न टाढा जानुपर्ने बाध्यता छ । तर अहिले घुँगी खोज्न मानवीय चाप नभएको घोलमा पुग्नुपर्छ । निकुञ्ज छेउछाउको घोल र मान्छेले अतिक्रमण नगरेको घोलमा मात्रै घुँगी पाइन्छ ।
‘पहिले धानखतेमा प्रशस्तै पाइन्थ्यो, अग्र्यानिक हुन्थ्यो, अहिले विषादीले घानखेतको घुँगी राम्रो मानिँदैन । त्यो पनि विषादीले खेतमा घुँगी हराउँदो छ । जसका कारण एक–दुई किलो बनाउन पनि ठूलै संघर्ष गर्नुपर्ने अवस्था आएको छ’, थारू पत्रकार संघ चितवनका अध्यक्ष कारी महतोले भने ।
नेपालको वास्तविक घुँगी हराउँदै गएपछि अहिले पूर्वी नेपालको बारालगायत जिल्लाबाट चितवन ल्याएर घुँगी बिक्री हुने गरेको छ । यो ठूलो आकारमा हुन्छ भने स्वादमा समेत फरक हुने थारू कल्याणकारिणी सभा क्षेत्र नम्बर ७ का अध्यक्ष नारायण महतो बताउँछन् ।
कस्तो हुन्छ र कसरी खाने घुँगी ?
हड्डीको समस्या भएमा निको हुने भन्ने चलन थारूमा छ । थारूका गुरौहरुले त्यस्ता बिरामीलाई खान सिफारिश गर्छन् । ज्यान दुखेको, ढाड दुखेको ठीक हुन्ने विश्वास रहेको कारी महतो बताउँछन् । यो बीउ छैन । पाल्ने अवस्था नि छैन । यसको अनुसन्धान पनि हुन सकेको छैन । यसले माटो हिलो लेउ खान्छ । चिप्ले कीरा प्रजातिमा पर्छ घुँगी ।
यसलाई निकालेर सफा पानीमा १५ देखि २४ घण्टा राख्नुपर्छ । त्यसपछि पीठो खुवाउनु पर्छ । पानीमा राखेर पीठो हालिदिए यसले पीठो खान्छ । पीठो खाँदा पहिले खाएको लेदो (जुन माटो मिसिएको हुन्छ) ओकल्छ । अनि चुच्चोपट्टि फुटाइन्छ । त्यसपछि सफा गरेर पकाउनुपर्छ । अनि मात्रै खान योग्य हुन्छ । पोखरीबाट ल्याउने बित्तिकै पकाउँदा हिलो गन्हाउँछ । माटो किरिङ किरिङ हुने हुँदा राम्ररी सफा गर्नुपर्छ ।
घुँगी जोगाउन प्रतिमा निर्माण गरेर प्रदर्शनी

चितवनको खैरहनीमा शुरु भएको थारूको खिचरा महोत्सवमा घुँगी जोगाउने प्रयासस्वरुप पाँच फिट अग्लो मूर्ति (प्रतिमा) निर्माण गरेर प्रदर्शन गरिएको छ ।
घुँगीसँगै खाने मौलिक खाना चिचरको ‘पोका’ समेत प्रदर्शनमा राखिएको छ । यसले मौलिक खानाको संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको थारू कल्याणकारिणी सभा क्षेत्र नम्बर ७ का अध्यक्ष तथा महोत्सव संयोजक नारायण महतोले बताए । लोप हुँदै गएको घुँगीलाई बचाउन पनि पहिलो प्रयासस्वरुप प्रतिमा बनाइएको उनले बताए ।
आयोजकले अतिथिलाई मायाँको चिनोसमेत घुँगीकै प्रतिमा दिएर पहिलो पटक नौलो प्रयास थालेका छन् । संयोजक महतोको योजनाअनुसार यसरी शुरु गरिएको हो ।
महोत्सवको मुख्य आकर्षण नै अहिले घुँगीको प्रतिमा बन्न पुगेको छ । दर्शक एकपटक घुँगीसँग सेल्फी हानेकै हुन्छन् । ललितकला क्याम्पसमा स्नातकोत्तर पढ्दै गरेका माडीका दिनेश्वर महतोले घुँगी र चिचरको पोकाको प्रतिमा फाइबरबाट बनाएका हुन् । –रासस












प्रतिक्रिया