शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा गंगाधर पराजुली नियुक्त

दैनिक नेपाल २०७४ पुष २८ गते १२:४६

काठमाडौँ, २८ पुस । सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा पोखराका अग्रज पत्रकार गंगाधर पराजुलीलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषदको शुक्रबारको बैठकले पराजुलीलाई आगामी दुई बर्षका लागि अध्यक्षमा नियुक्त गरेको हो । अध्यक्षमा खुला प्रतिस्पर्धाबाट पराजुलीसहित तीन जना प्रतिस्पर्धामा थिए । सूचना तथा संचार मन्त्रालयको सिफारिसमा पराजुलीलाई नियुक्त गरिएको हो ।

को हुन पराजुली ?

पोखरामा रहेर पनि पत्रकारिताको माध्यमबाट राष्ट्रिय पहिचान बनाउन सफल गंगाधर पराजुली करिब २५ वर्ष पत्रकारितामा छन् । व्यवस्थापन विषयमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका उनी २०४९ सालदेखि पत्रकारितामा निरन्तर छन् ।

नेपाल पत्रकार महासंघ र काँग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको केन्द्रीय समितिको क्रमशः उपसभापति र उपाध्यक्ष भएर उनले काम गरिसकेका छन् ।

राष्ट्रिय समाचार समितिको संचालक समितिको सदस्यको सदस्य समेत रहेका पराजुलीले कार्यकाल बाँकी रहँदै केही समय अघिमात्रै पदबाट राजीनामा दिएका थिए । राससको महाप्रवन्धक बन्ने चाहना राखेपनि माओवादी नेता जनार्दन शर्माका भाइलाई राससको महाप्रवन्धक बनाइएपछि गत जेठ महिनामा उनले सदस्य पदबाट राजीनामा गरेका हुन् ।

नेपाल पत्रकार महासंघ कास्कीले प्रजातन्त्रका सेनानी दयाशंकर पालिखेको स्मृतिमा संचालन गरेको राष्ट्रिय पत्रकारिता पुरस्कार, नेपाल प्रेस युनियन कास्कीले स्थापना गरेको प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार, नेपाल जेसीसले प्रदान गर्दै आएको राष्ट्रिय युवा प्रतिभा पुरस्कार, नेपाल पत्रकार महासंघ कास्कीले संचालन गर्दै आएको गजेन्द्र भण्डारी स्मृति सृजनशील पत्रकारिता पुरस्कार, बालकृष्ण उग्रतारा पत्रकारिता पुरस्कारसहित विभिन्न सम्मान र पुरस्कार समेत उनले प्राप्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित