– मिना बुढाथोकी
सल्यान, २७ पुस । सल्यानको ढोरचौर गाँउपालिका–५ का १५ वर्षीय दिपक रानाले सानो हेलिकप्टर निर्माण गरेका छन् । निराजन मावि ढोरचौमा कक्षा ८ मा अध्यनरत रानाले घर नजिकैका कक्षा ७ मा अध्यनरत साथी १३ वर्षीय बसन्त बुढाथोकी र कक्षा ५ मा पढ्ने १२ वर्षीय निरज रोकासँग मिलेर सानो हेलिकप्टर निर्माण गरेका हुन् ।
उनीहरुले निर्माण गरेको हेलिकप्टर बुधबारदेखि शुरु भएको छैठौँ कृषि, पशु, वन, पर्यटन, उद्योग, व्यापार तथा साँस्कृतिक महोत्सवमा प्रदर्शन गरिएको छ । आफुहरुले बनाएको सानो नमुना हेलिकप्टर यसरी महोत्सवमा प्रदर्शन गर्न पाउदा निकै खुशी देखिएका रानाले भने ‘हामीले १५ दिन लगाएर हेलिकप्टर तैयार पारेका हौँ ।’
‘यस महोत्सवमा हामीले बनाएको हेलिकप्टर उडाउने विचार थियो । मोटर बिग्रिएर उडाउन सकेनौँ, तर छिटै उडाउने छौँ ।’ रानाले भने । २ जना बस्न मिल्ने सो हेलिकप्टर करिब २० मीटर माथि उड्न सक्ने रानाले बताए । फलाम काठ र जस्तापाता बाट निर्मित हेलिकप्टरमा उडाउनका लागी मोटर, ब्याट्री, अन गर्नलाई स्वीच, हेडफोन लगायतका आवश्यक सामाग्री पनि रहेको बसन्त बुढाथोकीले बताए । उनले खुशी हुदै भने, ‘सानो छँदा कागजको हेलिकप्टर बनाएर उडाउथ्यौँ, अहिले सानो हेलिकप्टर बनाउन सफल भयौं । भविश्यमा ठुलै हेलिकप्टर बनाउने योजना छ ।’
अहिले सानो हेलिकप्टर निर्माण गर्दा आमा बुवाले साथ दिएका उनले बताए । भविष्यमा समयले साथ दिए आफ्रले ठुलो हेलिकप्टर निमार्ण गर्ने योजना बनाएको उनले सुनाए । ‘हेलिकप्टर बनाएर नेपालको आकाशमा उडाउने छौँ’, १२ वर्षीय निरज रोकाले भने । उनीहरुले केहि स्थानीय श्रोत साधन र बाँकी सामाग्री नेपालगञ्जबाट ल्याएर हेलिकप्टर निर्माण गरेको बताए ।
बुधबारदेखि शुरु भएको महोत्सवमा उनीहरुले बनाएको हेलिकप्टर मुख्य आकर्षकको रुपमा रहेको छ । महोत्सवमा आउने दर्शकले सानो हेलिकप्टर नजिकैबाट निःशुल्क हेर्न पाउदा खुशी व्यक्ता गर्नुका साथै तिनै जना बालकको प्रशंसा समेत गर्ने गरेका छन् ।













प्रतिक्रिया