२२ कार्तिक २०८३, आइतबार

संस्कृति जोगाउन माघी मेला गरिने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २४ पुस । माघी मेला समिति धनगढी उपमहानगरपालिका ९ बंगराकटानको आयोजनामा पुस ३० देखि माघ एक गते सम्म माघी मेला हुने भएको छ ।

‘हाम्रो संस्कृति हाम्रो पहिचान, सँस्कृति बचाउने हाम्रो । मेची महाकाली भाई—भाई, मेलामा आउनेलाई हार्दिक बधाई ।’ भन्ने मूल नाराका साथ दुई दिने महोत्सवको बंगराकटानमा आयोजना गरिएको मेला समितिका संयोजक तथा भलभन्सा ओमप्रकाश चौधरीले जानकारी दिए ।

मेलामा थारु कला र संस्कृतिमा आधारित खानाका परिकारहरु ढिक्री, अन्दीको भात, रोटी, तरुल, घोंगी, चट्नी, गँगटा, मुसाको मासु, बंगुर, सिद्रा, बयरको चट्नी सक्करगन्जी लगायतका परिकारहरु राखिने संयोजक चौधरीले बताए । उनका अनुसार मेलामा १९ वटा स्टलहरु राखिने छन् ।

माघी मेलालाई सफल पार्न थारु संस्कृतिमा आधारित विभिन्न सांगीतिक कार्यक्रमहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको साँस्कृतिक समितिका संयोजक दिनेश चौधरीले जानकारी दिए । उनका अनुसार मेला अवधिभर थारु र पश्चिमेली पहाडमा गाइने देउडा लगायतका गीतहरुको प्रस्तुती समेत राखिने छ ।

मेलामा चर्चित थारु जातीकाबाट राष्ट्रिय पहिचान बनाउन सफल दिनेश चौधरी, रमेश मिशन, मनिराम चौधरी, दर्पन कुश्मीया र देउडा गायक हिरण्डे सावदको पनि प्रस्तुती रहने साँस्कृतिक संयोजक चौधरीले बताए । माघी मेलामा थारु संस्कृति झल्किने झाँकी र नाँचहरु प्रस्तुत गरिने पनि उनको भनाइ छ । पहिलो पटक हुन लागेको माघी मेलालाई आगामी दिनहरुमा थप व्यवस्थित बनाउँदै लैजाने योजना रहेको आयोजकले बताएको छ ।