बाजुरा, २३ पुस । दुर्गम क्षेत्रको स्वास्थ्य सेवालाई गुणस्तर बनाउन स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । बुढीगंगा नगरपालिका र छेडेदह गाउँपालिकाका ४ वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सेवा सहज र गुणस्तरीय बनाउन सहयोग पुग्ने सामाग्री उपलब्ध गराईएको हो ।
बुढीगंगा नगरपालिका स्थित बाजुरा स्वास्थ्य चौकी, बाह्विस स्वास्थ्य चौकी र छेडेदह गाउँपालिकाका डोगडी र गुदुखाती स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको जिल्ला जनस्वास्थ्य अधिकृत रमेश कुँवरले बताए ।
सहयोग सामाग्रीले जनस्वास्थ्य सेवामा गुणस्तरीयता ल्याउन सहयोग मिल्ने अधिकृत कुँवरको भनाई छ । जिल्ला स्वास्थ्य कार्यालयसँगको सहकार्यमा स्वास्थ्य संस्थालाई अति आवश्यक सामाग्री सहयोग गरिएको हो ।
सर्वसाधारणको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पुर्याउन दुर्गम गाउँ क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा अत्यावश्यक स्वास्थ्य साम्रागी सहयोग गरिएको पीसविन सामुदायिक विकास परियोजना स्वास्थ्य श्रोत व्यक्ति चित्रराज जोशीले बताए ।
स्वास्थ्य सामाग्री नहुँदा सेवा दिन असहज हुने र सेवामा गुणस्तर नहुने हुँदा स्वास्थ्य संस्थालाई सहयोग गरिएको हो । चारवटा स्वास्थ्य संस्थामा अति आवश्यक र स्वास्थ्य संस्थाको मागका आधारमा साढे तीन लाख बराबरको सामाग्री सहयोग गरिएको छ ।
गुड नेवर्स इन्टरनेशनल र पीसविनको सहकार्यमा सञ्चालित सामुदायिक विकास परियोजनाको स्वास्थ्य सेवा सामाग्री सहयोग गरिएको हो । सहयोग सामाग्री जिल्ला स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत रमेश कुँवरले सम्बन्धीत स्वास्थ्य चौकीका इन्चार्जलाई हस्तान्त्रण गरिएको छ ।
राज्यले एकै साथ सै स्वास्थ्य संस्थालाई पुग्ने गरी भौतिक उपकरण उपलब्ध गराउन नसक्ने हुँदा यो सहयोगले ठूलो राहत पुग्ने बाजुरा स्वास्थ्य चौकी इन्चार्ज विष्णुभक्त जैशीले बताए । यस अघि काँडा, जयवागेश्वरी र बाजुरा स्वास्थ्य चौकीलाई साढे पाँच लाख बराबरको सामान सहयोग गरिएको परियोजना संयोजक टेकबहादुर थापाले बताए ।
ठूलो लगानीको सामाग्री दिईएको छ, जति सक्यो बढी उपयोग गरी सेवालाई थप गुणस्तरीय बनाउन प्रयोग गर्न इन्चार्जलाई जनस्वास्थ्य अधिकृतले सुझाव दिए । सामान भएर थन्काइएको पाईएमा सचेत गराउने उनले बताए ।
आवश्यक सामाग्री नहुँदा उपचार सेवामा समस्या भईरहेको बेला सहयोग सामाग्रीले सेवा प्रवाहमा सजिलो हुने आफैमा राम्रो पक्ष हो, तर स्वास्थ्य संस्थाको बढी आवश्यक सामाग्री सहयोगमा ध्यान दिन बुढीगंगा नगरपालिका स्वास्थ्य संयोजक दिपक शाहले बताए ।
सामान नै थिएनन्, भएका पनि पुराना छन्, सहयोग पछि सेवा दिन सजिलो मात्र होइन् सेवाको गुणस्तरमा समेत सुधार हुने विश्वास स्वास्थ्य कर्मीको छ । सहयोग स्वरुप ड्रेसिङ ट्रेय, हस्पीटल बेड, इएनटी सेट, डेन्टल चियर, डेन्टल सेट, र्याक लगायत २० बढी किसीमका सामान हस्तान्त्रण गरिएको छ ।
सामाग्री बुझ्न बाजुरा स्वास्थ्य चौकी इन्चार्ज विष्णुराज जैशी, बाह्विस स्वास्थ्य चौकी इन्चार्ज कुलबहादुर रावल, बुढीगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख दिपक शाह लगायतको उपस्थिति रहेको थियो ।













प्रतिक्रिया