– विजय थापा
वासिङटन डिसी । नेपाल काठमाडौँ घर भइ नेपाल प्रहरी ‘सत्य , सेवा , सुरक्षा’मा २८ बर्ष काम गरि निवृति लिएका चर्चित चित्रकार सुबोध घिमिरेले अमेरिकाको डिसी महानगर क्षेत्रमा अमेरिका नै आएर बनाएका चित्रहरुको ‘एकल चित्रकला प्रदर्शनी’ गरेका छन् ।
गत जनवरी ५ शुक्रबारका दिन सुरु भएको उनको एकल चित्रकला प्रदर्शनी जनवरी २६ तारिख सम्म चल्ने छ । कलाकार घिमिरेले ‘पिस इन एब्सट्राक्सन’ अर्थात् ‘कल्पनामा शान्ति’ नामक मूल बिषयमा राखिएको उक्त एकल प्रदर्शन डिसी नजदिक आर्लिंगटन को फोकस ग्यालरीमा राखिएको छ । उनीलगायत अन्य विदेशी कलाकारहरुको पनि उक्त चित्रकला कक्षमा प्रदर्शनी गरिएको छ ।
कलाकार घिमिरेले अमेरिकामा चित्रकला प्रदर्शन गर्न सबै कलाकारको इच्छा हुने भन्दै विशाल देशमा आफ्नो चित्रकला प्रदर्शन गर्ने अवसर पाएकोमा गर्व गर्व महशुस भएको घिमिरेले बताए । यसको साथै उनले यसलाई नै पेशाको रुपमा लाने प्रतिबद्धता जाहेर गरेका छन् । अमेरिकामा यसरी चित्रकलालाई नेपालबाट आएर पेशाको रुपमा बनाउनु ठूलो अर्थ राख्दछ ।
उनले प्रदर्शनमा राखिएका सबै चित्रहरु अमेरिकामा बनाएको भन्दै यसलाई निरन्तरता दिने बताएका छन् । उनका प्रदर्शनमा राखिएका चित्रकलाहरु ४ सय डलर देखि २७ सय डलर सम्म मूल्यका रहेका छन् । कलाकार घिमिरेले चित्रकलालाई नै पेशामा लाने बताउदै आफूलाई पारिवारिक सहयोग समेत रहेकोले अमेरिकामा अन्य काम गर्नु नपरेको बताए । यस पेशामा रहेका सबैलाई हौसला दिँदै आफूले सहयोग र सल्लाह समेत दिने उनले बताए ।
उक्त चित्रकला प्रदर्शनमा विदेशी लगायत नेपाली समूदायको उपस्थिति रहेको थियो । सहभागी सबैले अमेरिका जस्तो देशमा यसरी नेपाल र नेपालीको नाम राख्नु ठुलो कुरो बताए । चित्रकार घिमिरे सानै उमेरदेखि चित्रकला विधामा लागेका हुन् । उनले ९ बर्षको उमेरमा विद्यालय स्तरीय प्रतियोगितामा विजयी भएका थिए ।
उनले नेपाल बाहेक फ्रान्सको पेरिस तथा लियोनमा सफलता पूर्वक आफ्ना चित्रकला प्रदर्शनी गरि सकेका छन् । कलाकार घिमिरे द्वन्द समाधानका उच्च श्रेणीमा विशेष योग्यता हासिल गरेका छन् । त्यसको माध्यमद्वारा कलाकारहरुले कसरी आफ्ना विचारहरु द्वन्द अवधि तथा द्वन्द समाप्त पछि चित्रण गर्छन भन्ने कुरामा जोड दिदै प्रदर्शन को मुख्य शीर्षक नै ‘कल्पनामा शान्ति’ भन्ने राखेका छन् । फ्रान्समा भएको घिमिरेको प्रदर्शनमा ७० प्रतिशत चित्रकला बिक्री भएका थिए । उनको अमेरिकामा यो पहिलो एकल प्रदर्शनी हो ।




















प्रतिक्रिया