
– पूर्णप्रसाद मिश्र
चम्पादेवी (ओखलढुंगा), २२ पुस । आधुनिकताले जतिसुकै फड्को मारे पनि यहाँका बासिन्दा झोलुंगे पुल निर्माण हुँदा बाजागासहित खुशी मनाउँछन् ।
मध्यपहाडी लोकमार्गस्थित सिन्धुलीको खाङसाङबाट ओखलढुंगाको पलापु जोड्ने झोलुंगे पुल निर्माण सम्पन्न भएपछि ७३ वर्षीया रत्नकुमारी सार्की हर्षित छिन् । वर्षौंदेखि सुनकोशी नदी पार गर्न डुंगाको सहारा लिनुपर्ने बाध्यता पुल निर्माणसँगै अन्त्य भएकोमा उनीलगायत स्थानीयवासी खुशी भएका हुन् ।
जीवनको छ दशक सुनकोशी नदीमा डुंगाबाटै आवतजावत गर्दा धेरै मानिसलाई बगाएको उनको स्मरणमा अझै ताजा छ । कुनै दिन आफू पनि डुंगाबाटै झरिएला भन्ने डरकाबीच पुलबाट यात्रा गर्न पाउँदा खुशीको सीमा नाघेको ७० वर्षीया वृद्ध गोमलाल माझीले सुनाए ।
स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) सस्पेन्सन वृज डिभिजनले निर्माण गरेको १९४ मिटर लम्बाइको पुल शुक्रबार संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीले उद्घाटन गरे । कार्यक्रममा उपस्थित स्थानीयवासीले पुल निर्माण हुँदा दशकौँदेखिको सपना साकार भएको भन्दै खुशी व्यक्त गरे ।
कार्यक्रममा राज्यमन्त्री चौधरीले नदीमाथि मानिस ओहोरदोहोर गर्ने स्थानमा पुल निर्माण गर्ने मन्त्रालयको कार्यक्रम रहेको जानकारी गराए । ‘अहिलेको युगमा पनि खोला तर्न झोलुंगे पुलसमेत बन्न नसक्ने अवस्था रहनुहुन्न । यसैले चालु आवमा मन्त्रालयले ६०० झोलुंगे पुल बनाउने कार्यक्रम बनाएको छ’, उनले भने ।
पुल निर्माणका लागि ८० लाख ५४ हजार ६४० रुपैयाँ लागत लागेको विभागको सस्पेन्सन बृज डिभिजनका वरिष्ठ डिभिजन इञ्जिनियर हुमाकान्त मिश्रले जानकारी दिए । विसं २०७३ असार १७ गते शुरु भएको पुल यसै वर्ष भदौ २० गते सम्पन्न भएको थियो । पुल निर्माणको अवधि पुस १६ गतेसम्म भए पनि निर्माण कम्पनी एमपी कन्स्ट्रक्सन कम्पनी प्रालि, नेपालगञ्जले चार महिना अघि नै सम्पन्न गरेर उदाहरणीय काम गरेको स्थानीय डिल्लीराम खनालले बताए ।
पुल निर्माणका लागि ९३ लाख ८७ हजार ५३० रुपैयाँ लाग्ने अनुमान गरिए पनि १३ लाख कम बजेटमै सम्पन्न भएको विभागका महानिर्देशक जीवनकुमार श्रेष्ठले जानकारी गराए ।
नवलपुरमा पक्की पुलको शिलान्यास

यसैगरी ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकालाई मध्यपहाडी लोकमार्गस्थित सिन्धुलीको फिक्कल गाउँपालिकासँग यातायातले जोड्न सुनकोशी नदीमाथि पक्की पुल बन्ने भएको छ ।
पुलको राज्यमन्त्री चौधरीले शुक्रबार नै शिलान्यास गरे । यो पुल निर्माण भएपछि जिल्लाको पश्चिमी भेगका मानिस घुर्मी हुँदै ओखलढुंगा घुमेर जानुपर्ने समस्या नहुने चम्मादेवी गाउँपालिका–२ का अध्यक्ष विष्णु पुलामीले बताए । यो पुल निर्माण सम्पन्न भएपछि जिल्ला सदरमुकाम जानसमेत छोटो दूरी पर्नेछ । पुल निर्माणका लागि गत वर्ष नै ठेक्का भए पनि निर्माण कम्पनी टुण्डी/शर्मा जेभीले नक्सा बनाउन ढिलाइ गर्दा शिलान्यास गर्न समय लागेको सो अवसरमा जानकारी गराइयो ।
सुनकोशी नदीमाथि दुई लेनको २०० मिटर लम्बाइको पुल निर्माण हुनेछ । पुल निर्माणपछि ओखलढुंगा पश्चिमी र रामेछापको पूर्वी भेगका बासिन्दा लाभान्वित हुनेछन् । विसं २०७६ असारसम्म निर्माण सम्पन्न भइसक्नुपर्ने पुलको लागत २१ करोड ९३ लाख रुपैयाँ रहेको पुल निर्माणमा खटिएका सडक विभागका इञ्जिनियर रमेश सुवेदीले बताए ।
पुलको शिलान्यास गर्दै राज्यमन्त्री चौधरीले अबको राजनीति विकासका लागि हुनुपर्नेमा जोड दिए । ‘आर्थिक समृद्धिका लागि मुलुक स्थिर बाटोमा अघि बढ्नुपर्छ । अन्नको भण्डार तराई, जडीबुटी, जल र ऊर्जाको स्रोत हिमाल एवं पहाडको समन्वयात्मक विकासले मात्र समग्र देशको विकास हुन्छ’, उनले भने । पूर्वसांसद रामहरि खतिवडाले हाल रामेछाप सदरमुकाम मन्थली जान ७० किमी घुम्नुपर्ने बाध्यता रहेकामा पुल सम्पन्न भएपछि १६ किमीमै पुगिने बताए । पुल बन्नुअगावै नवलपुर–कोशभञ्ज्याङ–ओखलढुंगा सडक कालोपत्र गर्न आफू लाग्ने वाचासमेत उनले गरे ।
चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसीले सुनकोशी नदीमाथि पक्की पुल नहुँदा भूकम्पपछिको पुनःनिर्माणमा निर्माण सामग्री लैजान, दैनिक उपभोग्य वस्तु ढुवानी गर्न र बिरामीलाई उपचारका लागि स्वास्थ्य संस्था लैजान समस्या भइरहेको बताए । कार्यक्रममा डोलिडारका महानिर्देशक श्रेष्ठ, नेपाली काँग्रेस ओखलढुंगाका सभापति प्रदीपकुमार सुनुवार, महासमिति सदस्य डिल्लीराम खनाललगायतले तोकिएकै समयमा पुल निर्माण सम्पन्न गराउन निर्माण कम्पनीको ध्यानाकर्षण गराए । निर्माण कम्पनीबाट पुल हेर्न खटिएका उपप्रमुख व्यवस्थापक मञ्जिल मिश्रले समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाए । –रासस












प्रतिक्रिया