२२ कार्तिक २०८३, आइतबार

आजदेखि जलपक्षीको गणना शुरु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्विर ।

रत्ननगर (चितवन), २२ पुस । नेपालका विभिन्न जल क्षेत्रमा शनिबारदेखि जलपक्षी (पानीचरा)को गणना शुरु हुँदैछ । सिमसार क्षेत्रमा पाइने चराको अवस्था पत्ता लगाई यसको संरक्षणका लागि नयाँ रणनीति बनाउन चरा गणना गर्न लागिएको हो ।

गणनापछि तयार पारिएको प्रतिवेदन नीति निर्माणतहमा समेत पेश हुने चराविज्ञ तथा पक्षीविद् संघ नेपालका प्रमुख डा. हेमसागर बरालले जानकारी दिए । उनका अनुसार शनिबारदेखि शुरु हुने चरा गणना कार्य माघ ७ गतेसम्म चल्ने छ । गणनामा ३०० स्वयंसेवक तथा चराविज्ञको सहभागिता रहने डा. बरालले बताए । शनिबार पहिलो दिन शुक्लाफाँट र कोशीटप्पुबाट गणना शुरु हुने बताउदै बरालले अन्य क्षेत्रमा शनिबारदेखि माघ ७ गतेभित्रमा आआफ्नो अनुकूलतामा देशैभरिको सिमसार क्षेत्रमा गणना हुने जानकारी दिए ।

चितवनमा भने केही दिनमा गणना थालिने चराविज्ञ तथा वर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष वासु बिडारीले बताएका छन् । अघिल्लो गणनामा चितवनमा ५४ प्रजातिका जलपक्षी भेटिएको थियो । तर चराको संख्या भने घट्दो क्रममा रहेको चराविज्ञले बताएका छन् । डा बरालले चराको संख्या घट्दो क्रममा रहेको भन्दै यसतर्फ गम्भीर हुनुपर्नेमा जोड दिए ।

यसपटक सिमसार सूचीमा सूचीकृत नेपालको पाँच वटा तालमा समेत चराको गणना हुनेछ । मुख्य गरी चितवनको विसहजारी ताल, कपिलवस्तुको जगदिशपुरताल, पोखराको फेवाताललगायत क्षेत्रमा पनि चराको गणना हुनेछ ।

अघिल्लो अनुगमनमा चितवनमा सिमसार क्षेत्रभरि गरेर कुल १० हजार ३२ चरा गणना गरिएको वर्ड एजुकेशन सोसाइटी चितवनले जनाएको छ । त्यसको अघिल्लो वर्ष सिमसार क्षेत्रमा ११ हजार २६० वटा चरा भेटिएको थियो । जिल्लामा चराको संख्या ६३४ प्रजातिको अभिलेख छ । नेपालमा ८८७ प्रजातिका चरा छन् । अहिले विभिन्न देशबाट चरा नेपाल बसाइँ सरेर जाडो छल्न नेपाल आएका छन् । –रासस