– आकाश देबकोटा
अगैया (बाँके), २१ पुस । राप्तीसोनारी गाउँपालिका अन्तर्गत रहेका स्वास्थ्य चौकीमा औषधी पु-याउन पहल थालिएको छ । गाउँपालिकाको १ देखी ९ वटै वडामा रहेका स्वास्थ्य चौकीमा औषधी पु-याउन गाउँपालिकाको कार्यालयले पहल थालेको हो ।
राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले औषधी खरिदका लागी टेन्डर प्रक्रियामा ढिलाई भएकाले समयमा पु-याउन नसक्दा केही स्वास्थ्य संस्थामा सामान्य रुपले समस्या उत्पन्न भएपनि चाँडै समस्या समाधान गर्न पहल गरिएको बताए ।
‘टेन्डर प्रक्रियाको कारणले गर्दा केही ढिलाई भयो । खरिद गरिएको औषधी आईसकेको छ । एक/दुई दिनमा सबै ठाउँमा औषधी पु-याउने तयारी भईरहेको छ’, उनले भने । नेपाल सरकारले सुरुदेखि उपलब्ध गराउँदै आएको ३५ प्रकारको औषधी स्वास्थ्य चौकीमा वितरण गरिने उनले जानकारी दिए ।
औषधी खरिदका लागी गाउँपालिकाले चालु आर्थिक वर्षको बजेटबाट १० लाख रुपैयाँ विनियोजन गरेको थियो । गाउँपालिकामा औषधी पु-याउन टेण्डर प्रक्रियामार्फत दुई वटा फर्मले जिम्मा पाएको कार्यालयले जनाएको छ । सबै औषधी एकै पटक नआएको र औषधी एकैपटक वितरण गर्न खोज्दा केही स्वास्थ्य चौकीमा समस्या देखिएको गाउँपालिका अध्यक्ष थारुले स्पष्ट पारे ।












प्रतिक्रिया