२२ कार्तिक २०८३, आइतबार

डोटेली आफैँले घोषणा गरे प्रदेशका मन्त्रालय

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– झलक पाली
डोटी, १९ पुस । प्रदेश नम्बर ७ को राजधानी दिपायल हुनुपर्ने माग गर्दै आन्दोलित बनेका डोटेलीले स्वयम्ले प्रदेश सरकार गठन नहुँदै बिहीबार प्रदेशका मन्त्रालय घोषणा गरिदिएका छन् । प्रदेशको अस्थायी राजधानी धनगढी बनाउने तयारी गरिएको भन्दै आन्दोलित डोटेलीहरुले दिपायल क्षेत्रमा रहेका साविकका क्षेत्रीय कार्यालयहरुमा मन्त्रालयका साईन बोर्ड लगाएर मन्त्रालय घोषणा गरेका हुन् ।

आन्दोलनकारीले राजपुरमा रहेका क्षेत्रीय कार्यालयका भवनहरुमा विभिन्न प्रादेशिक मन्त्रालयका साईन बोर्ड झुण्ड्याएका छन् । क्षेत्रीय स्वास्थ्य निर्देशनालयको नव निर्मित भवनमा प्रदेशसभा सचिवायल तथा मुख्यमन्त्रीको कार्यालयको साईन बोर्ड राखिएको छ भने क्षेत्रीय प्रशासन कार्यालयमा प्रदेश गृहमन्त्रालयको बोर्ड राखेका छन् ।

क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा स्वास्थ्य, शिक्षा तथा सामाजिक विकास मन्त्रालय, खानेपानी कार्यालयको भवनमा अर्थ मन्त्रालय, शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमा भौतिक पूर्वाधार मन्त्रालयका साईनबोर्ड राखेर विरोध जनाएका छन् ।

त्यस्तै क्षेत्रीय पशु सेवा निर्देशनालयमा वन, विज्ञान तथा भूमी सुधार मन्त्रालय र कृषि निर्देशनालयको भवनमा कृषि, पशु तथा सहकारी मन्त्रालयको बोर्ड राखेका छन् । वर्षौँदेखि दिपायल सदरमुकाम रहँदै आएको र प्रादेशिक संरचनामा दिपायलमा प्राप्त अधिकार खोसेर राजधानी अन्तै सारिने संकेत पाएपछि उनीहरुले मन्त्रालयहरुको स्वघोषणा गरेका हुन् ।

त्यस्तै आन्दोलनकारीहरुले जिल्ला सदरमुकाम सिलगढीस्थित विभिन्न सरकारी कार्यालयहरुमा समेत तालाबन्दी गरेका छन् । यति बेला जिल्लाका विभिन्न ठाउँमा छुट्टाछुट्टै समूहले आन्दोलन जारी राखेका छन् ।