– माधव बेल्वासे
कपिलवस्तु, १६ पुस । चार वर्ष भयो कपिलवस्तु बुद्धभुमी नगरपालिका इमिलियामा प्रेम रानाले उन्नत जातको कुखुरा पालन सुरु गरेको । ९ वर्षसम्म विदेशी भुमिमा पसिना बगाउँदा पनि सन्तुष्ट हुन नसके पछि उनी नेपालमै आएर केही गर्ने योजनाका साथ फर्किएका थिए । र सुरु गरिहाले उन्नत जातको कुखुरा पालन व्यवसाय ।
इमिलियामा उनको करिव ३२ कट्ठामा कुखुराको खोर र माछा पोखरी छ । वैदशिक यात्राको मोह त्यागेर नेपालमा पशुपालन क्षेत्र अंगालेका राना अहिले परिवारसँगै बसेर गरेको यो व्यावासयबाट निकै सन्तुष्ट छन् ।
रानाले उन्नत जातको लेस कुखुरा पालिरहेका छन् । लेस कुखुरा विशेषगरी अण्डाको लागी पाल्ने गरिन्छ । सुरुवातमा एउटा खोर बनाई १२ सय कुखुराबाट कुखुरापालन सुरु गरेका रानाले फाइदा भएपछि अहिले अर्का खोर बनाई २४ सय कुखुरा पाल्न थालेका छन् । १४ लाखको लगानीबाट सुरु भएको उनको व्यावसायबाट अहिले मासिक १ लाख ८० हजार आम्दानी भइरहेको रानाको भनाई छ ।
कुखुरापालनकै कमाईबाट उनले छोरालाई काठमाडौँको कलेजमा पढाएका छन् । विहान ४ वजे उठेर कुखुरको स्याहारसुसारमा लाग्छन्, उनी । श्रीमती र आफ्नो प्रयासले यो व्यावसायबाट सफल हुन सकेको उनको भनाई रहेको छ ।
२४ सय कुखुरावाट दैनिक १९ सय अण्डा उत्पादन हुने गर्छ । अण्डालाई बजारमा लान रानालाई सुरुवातका दिनहरुमा निकै मुस्किल भएको थियो । व्यवसाय सुरु गर्दा कपिलवस्तुका प्रत्येक बजारमा कुखुराको अण्डा बेच्नको लागी जाने गरेको उनले अनुभव सुनाए । रानाले भने, ‘अण्डालाई बजारीकरण गर्न निकै कठिनाई रहेको थियो तर अहिले कतिपय व्यापारीहरु घरमै अण्डा लिन आउने गर्दछन् । कतिपयलाई म आफै पु-याउने गर्दछु ।’
रानाले कुखुरा फर्मसँगै अहिले माछा पालन समेत सुरु गरिसकेका छन् । कुखुरापालनबाट मनग्य आम्दानी भएपछि उनले माछापालन तर्फ रुचि देखाएका हुन् । बुद्धभमी नगरपालिका भित्रकै सबैभन्दा ठुलो कुखुरा फर्म भनेर रानाकै फर्मलाई चिनिन्छ । रानाले कुखुरापालन सम्बन्धि विभिन्न तालिम समेत लिएका छन् । तालिममा सिकेका कुराबाट धेरै फाईदा पुगेको उनको भनाइ छ ।
सरकारले पशुपालन तर्फ धेरै अनुदानको व्यवस्था गरेपनि त्यो अनुदान व्यावसायी तथा किसानसम्म पुग्न नसकेको राना बताउँछन् । संस्था तथा फर्म दर्ता गराएकै भरमा सरकारले अनुदान दिने गरेको उनले बताए । पशु तथा कृषि क्षेत्रमा काम गरेका र असल कृषकहरुलाई अनुदान दिन सकेमा उनीहरुको मनोबल बढेर व्यवसायमा अग्रसर हुने रानाको भनाई रहेको छ ।
विदेशको कमाई छोडेर नेपालमै केहि गर्छु भन्नेलाई सरकारले विशेष व्यवस्था गर्नुपर्ने रानाको माग छ । बैदेशिक रोजगारीमा जान मरिहत्ते गर्ने युवाहरुको लागि देशमै व्यवसाय संचालन गर्ने सके नेपालमै मनग्य आम्दानी गर्न सक्ने उनको यो उदाहरणले पुष्टि गरेको छ ।












प्रतिक्रिया