२२ कार्तिक २०८३, आइतबार

प्रदेश नम्बर ७ मा पुषे पन्ध्र पर्व धुमधामसँग मनाईंदै

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– झलक पाली

डोटी, १५ पुस । आज पुष महिनाको १५ गते । प्रदेश नं. ७ मा मौलिक पर्वका रुपमा पुषे पन्ध्र पर्वका रुपमा धुमधामसँग मनाईंदैछ ।

हरेक वर्ष पुष १५ गतेका दिन मनाईने यस पर्वमा नजिकको टोल छिमेकमा सबै मानिस जम्मा भई मिठा–मिठा बात (कहानी) हाल्ने गरिन्छ ।

आजको राती जाग्राम बसेर १५ हात लामो मुढाको आगो ताप्दै आपसमा रमाईलोका साथ रात काट्ने परम्परा रहि आएको छ । यद्यपी पछिल्लो समयमा यो अलिक कम हुँदै गएको पाईन्छ ।

विशेषतः यस क्षेत्रका मानिसहरु आजको दिन तरुल, सखरखण्ड, फर्सी, पिंडालु आदिका परिकार पकाएर खाने गर्दछन् ।

त्यस्तै आजको दिनमा वनको पूजा पनि गरिन्छ । प्राय जसो गाउँठाउँमा वनमै गएर सेल, पुरी, झँजे (चामलको पिठोबाट बनाईने परिकार) आदि मिष्ठान्न पक्वानहरु पकाएर खाने प्रचलन छ ।

वन पूजा गरिने भएकाले आजको दिन वनजङ्गलमा काम नगर्ने तथा बञ्चरो, हसिया, बनारो (घाँसपात, दाउरा बान्ने रसी) लगाएतका सामाग्रिको पूजा पनि गर्ने गर्दछन् ।

डिसेम्बर २१, २२ वा २३ बाट उत्तरायण शुरु हुने भएता पनि यस क्षेत्रका मानिसहरुले आजको दिनलाई उत्तरायण शुरु भएको मान्दछन् भने केहि ठाउँमा माघ ३ गतेलाई पनि उत्तरायण शुरु भएको मान्ने गरेको बुढापाकाहरु बताउँछन् ।

पुषे पन्ध्र पर्वका लागि डोटीको सिलगढी, दिपायलका साथै अन्य विभिन्न जिल्लाका बजार क्षेत्रहरुमा पनि तरुल, सखरखण्ड, फर्सी लगाएतको कारोबार निकै बढेको व्यापारीहरु बताउँछन् ।

ग्रामिण भेगका मानिसहरु भने तरुल, गिठा, भ्याकुर लगाएतका खानेकुरा आफैंले खनेर उसिनेर खाने गर्दछन् ।