– नरेश के.सी.
भैरहवा,१० पुस । नेपाल जेसीजको ४४ औँ महाधिवेसन भैरहवामा जारी छ । महाधिवेशनमा नेपालभरीका १३८ शाखाका करिब १ हजार ५ सय जना मतादाताले मतदान गर्दैछन् ।
अध्यक्षको पदको लागी २ जना चुनावी मैदानमा छन् । अध्यक्षमा रामग्राम जेसीजका पुर्व अध्यक्ष श्रीधर बस्याल र इटहरी जेसीजका पुर्व अध्यक्ष महेश पौडेलबीच प्रतिष्पर्धा हुँदैछ । बस्याल नेपाल जेसीजका हालका कार्यकारीणी उपाध्यक्ष हुन् भने पौडेल नेपाल जेसीजको पुर्व कार्यकारणी उपाध्यक्ष हुन् । सोमबार दिउँसो देखि मतदान गर्ने भनिएता ककस (उम्मेदवारको अन्तरवार्ता) ढिलो गरि सकिएकोले मतदान पनि ढिलो भएको महाधिवेसन आयोजक संस्था जेसिआई सिद्धार्थका पुर्व अध्यक्ष देवराज न्यौपानेले जानकारी दिए । पुस ८ गते भैरहवाको महेन्द्रसभा गृहमा पुर्व प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेको महाधिवेशनले नेपाल जेसीजको नयाँ नेतृत्व चयन गर्दैछ ।
सन् १९७५ मा स्थापना भएको जेसीआई सिद्धार्थले आयोजना गरिरहेको महाधिवेशनले ५ नम्बर प्रदेशकै मुलद्वार भैरहवा भन्सार, सेज, विश्व पर्यटनको केन्द्र लुम्बिनी, तथा विभिन्न उद्योग व्यापारको प्रबद्र्धन गरिरहेको दाबी गरेको छ । महाधिवेशनका कारण अहिले भैरहवामा चहलपहल व्यापक छ । महाधिवेशन अत्यन्तै उत्साहपूर्ण तथा शान्तिपुर्ण रुपमा अगाडी बढेको र निर्वाचन पश्चात नयाँ सक्षम नेतृत्व चयन गर्न भैरहवा महाधिवेशन सफल हुने महाधिवेशन निर्देशक महेन्द्रकुमार श्रेष्ठले बताए ।












प्रतिक्रिया