धरान, ८ पुस । धरानमा कोठा भाडामा लिएर जुवातास खेल्ने र खेलाउनेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
धरानमा धरान–१६ समिचोक नजिकै जुवातास खेलीरहेको अवस्थामा पूर्वस्थानीय विकास अधिकारी (एलडिओ)सहित १० जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेलका अनुसार सोहन थापाको घरको कोठा भाडामा लिएर तासजुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । थापा काठमाडौं बस्छन् । उनले धनमाया भन्ने ४९ वर्षीया खिनाकुमारी लिम्बूलाई कोठा भाडामा दिएका थिए ।
पक्राउ पर्नेहरुमा धरान– १६ बस्ने विराज सिजापति, श्याम कार्की, रामकुमार पौडेल, प्रकाश कार्की, भूपाल निरौला, रामबहादुर तामाङ, थरेन्द्रबहादुर कार्की, धरान(१ बस्ने शशि राणा, कमल राई, धरान- ११ बस्ने अर्जुन भट्टराई छन् । पक्राउ परेका एलडीओको नाम खुलाइएको छैन ।
जुवा खेलालाउने लिम्बू भने फरार रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई शुक्रबार नै जिल्ला प्रहरी कार्यालयमा म्याद थप गरी अनुसन्धानका लागि हिरासतमा राखिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीको टोली र इलाकाबाट खटेको टोलीले पक्राउ गरेको हो ।
प्रहरीले तासको खालबाट ४८ हजार ७ सय ३० रुपैयाँ र ९ सय रुपैयाँ भारतीय रुपैयाँ र ६ बुङ तास समेत बरामद गरेको छ ।
उनीहरुलाई जाँच गर्ने क्रममा थापाको घरको तेस्रो तलाको एउटा कोठाबाट पक्राउ गरेको हो । उनीहरुलाई जुवा ऐनअनुसार कारबाही गर्ने र अर्को पटक तासजुवा खेलेको पाएमा जेल पठाउने गरी कारबाही प्रक्रिया सुरु गरेको प्रनाउ पौडेलले बताए ।












प्रतिक्रिया