बाजुरा, ७ पुस । छेडेदह गाउँपालिका र बुढीगंगा नगरपालिका क्षेत्रमा पर्ने २१ वटा विद्यालयका १ हजार ४९२ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएको छ । शिक्षा आर्जनमा सहयोग पु¥याउने लक्ष्यसहित गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएको हो ।
विद्यालय पोशाकसहित वर्षदिनलाई पुग्ने गरी विभिन्न शैक्षिक सामग्री सहयोग गरिएको मालिका माध्यमिक विद्यालय जयवागेश्वरीका प्रधानाध्यापक राजेन्द्र सिंहले बताए । अति विपन्न र गरिब तथा दलित समुदायका बालबालिकालाई विद्यालय नियमित गर्न र शैक्षिकस्तर सुधारमा शैक्षिक सामग्री सहयोगले ठूलो अर्थ राख्ने सिंहले बताए ।
सहयोग साविक काँडा, जयवागेश्वरी, गुदुखाता, डोगडी, बाह्विस र कुल्देवमाडौं गरी ६ गाविसमा रहेका २१ वटा सामुदायिक विद्यालयका छात्र छात्रालाई गरिएको हो । सहयोग पाउनेमा अधिकांश दलित समुदायका छन् । भने ती मध्ये पनि छात्राहरुको संख्या बढी छ । सहयोग सामग्री अभिभावक र शिक्षक विद्यार्थीलाई सँगै राखेर वितरण गरिएको चित्रराज जोशीले बताए ।
विद्यालय पोशाक तथा शैक्षिक सामाग्री नभएर विद्यालय नआउने, छोड्ने र कक्षा दोहो-याउनेमा पनि सहयोग कार्यक्रमले कमी ल्याउने विद्यालयले विश्वास लिएको छ । सहयोग ‘गुड नेभर्स इन्टरनेशनल’ र ‘पीसविन’को सहकार्यमा सञ्चालित सामुदायिक विकास परियोजनाले गरेको हो ।
सहयोग पाउने सबै बालबालिकालाई कक्षा १० सम्म निशुल्क शिक्षा र स्वास्थ्य उपचारको समेत व्यवस्था गरिएको छ । उनीहरुलाई बार्षिक एक पटक अनिवार्य स्वास्थ्य जाँच, तीनका अभिभावकलाई आयमुलक क्रियाकलाप सञ्चालनका लागि सहयोग पनि गर्ने गरिएको परियोजना अधिकृत टेकबहादुर थापाले बताए ।
समान र सुलभ शिक्षा आर्जन गर्नबाट कोही वञ्चित नहुन भन्ने उद्देश्यले नै सहयोग गर्ने गरेको अधिकृत थापाले थपे । २१ वटा विद्यालयमा विगत चार वर्षदेखि सहयोग ती बालबालिकालाई सहयोग गरिँदै आएको छ । विपन्न समुदायका बालबालिकाले बार्षिक रुपमा शैक्षिक सामग्री र पोशाग निशुल्क पाउने भएपछि विद्यालयमा नियमित आउने दर पनि बढेको र शैक्षिक सिकाई स्तरपनि सुधार भएको काँडा भवानीका प्रअ शंकर शाहले बताए । ‘दलित समुदायमा बढी समस्या थियो, अधिकांश समय विद्यालय नआउने, भारत लिएर जाने अवस्था थियो, सबै प्रकारको सहयोग संस्थाबाटै हुनेथालेपछि विद्यालय छोड्नेको संख्या शुन्य पुगेको छ’ शाहले भने ।












प्रतिक्रिया