२२ कार्तिक २०८३, आइतबार

राजनीतिक अधिकारविना आर्थिक अधिकार बलियो हुँदैनः अध्यक्ष शर्मा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्बिर: अच्युत रेग्मी/रासस

काठमाडौँ, ७ पुस । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले दलितको राजनीतिक अधिकार सुनिश्चित नभएसम्म आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार बलियो नहुने बताए ।

दलित सेवा संघले शुक्रबार आयोजना गरेको ‘दलित समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारः चुनौती र सम्भावना’ विषयक गोष्ठीमा उनले राजनीतिक अधिकारलाई पनि अन्य अधिकारलाई सँगसँगै लैजानुपर्ने बताए । ‘दलित हक अधिकारका सवालमा सबै राजनीतिक दलका दलित एकै मञ्चमा उभिनुपर्छ’, अध्यक्ष शर्माले भने । उनले दलितबर्ग राज्यको उच्च ओहदामा नपुगेसम्म उनको हक अधिकार स्थापित हुन कठिन हुनेमा पनि जोड दिए ।

नेकपा (माओवादी केन्द्र)का नेता विश्वभक्त दुलालले पछिल्लो समय दलितको अधिकार स्थापित हुँदै गएको बताए । ‘विश्वेश्वरप्रसाद कोइरालाले दलितको अधिकारलाई स्थापित गर्न प्रयत्न गरे पनि २०४६ सालपछि मात्र मार्ग प्रशस्त हुन थालेको हो’, उनले भने ।

दलित संघका अध्यक्ष चक्रमान विश्वकर्माले दलितको अधिकारलाई संविधानमा समावेश गरे पनि व्यवहारमा कार्यान्वयन हुन किठन भएको बताए । उनले जातपातको भेदभावका कारण धेरै मानिसले अकालमै मृत्युवरण गर्नुपरेको भन्दै यसलाई रोक्न यस्ता अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

दुई दिनसम्म चल्ने गोष्ठीमा मुलुकभरका ३५ जिल्लाका दलित अगुवा एवम् प्रतिनिधिको सहभागिता रहेको उपाध्यक्ष टंक विश्वकर्माले जानकारी दिए । –रासस