– राजेन्द्र ठगुन्ना
डडेल्धुरा, ३ पुस । डडेल्धुरा जिल्लामा रहेको एक मात्र सरकारी क्याम्पस डडेल्धुरा बहुमुखी क्याम्पसमा सय दिन हुँदासमेत ताला नखुलेपछि सोमबार स्ववियुले पुनः तालाबन्दी गरेको छ ।
क्याम्पसमा करारमा रहेका कर्मचारीहरुको म्याद थपको विषयलाई लिएर कर्मचारीहरुले तालाबन्दी गरेको सय दिन पार भएको छ । सय दिनसम्म क्याम्पसको ताला खुलाउने प्रयास नभएको भन्दै स्ववियुले पुनः तालाबन्दी गरेको स्ववियु सभापति जगत ऐरले बताए ।
सोमबार स्ववियुले क्याम्पस प्रमुख र क्याम्पस प्रशासनको विवाद चाडो समाधान गर्नु पर्ने, प्रशासनका दैनिक कृयाकलापहरु प्रशासन कार्यालयबाट नै सुचारु गरिनु पर्ने, कर्मचारीहरुको म्याद थपको विषयलाई सुल्झाउनु पर्ने, विधार्थीका रजिष्ट्रेशन फारमलगायत छात्रवृत्ति वितरण गरिनु पर्ने मागहरु विज्ञप्ती मार्फत जारी गर्दै कर्मचारीहरुले लगाएको तालाबन्दीसँगै क्याम्पसको मुख्य गेटमा ताला लगाईएको स्ववियुले जनाएको छ । डडेल्धुरा बहुमुखी क्याम्पसमा सञ्चालनमा रहेको परीक्षा सुचारु गर्न पनि स्ववियुले दवाब दिएको छ ।
विगत लामो समयदेखि क्याम्पस प्रशासन, प्राचार्यको कार्यालय र अन्य कक्षमा करारमा रहेका कर्मचारीहरुले तालावन्दी गरेका थिए । जसको कारणले बहुमुखी क्याम्पसमा नियमित पढाईमा अवरोध हुनका साथै विधार्थी भर्ना, रजिष्ट्रेशन फारमलगायतका कुराहरुमा अवरोध भएको थियो । आवश्यक पर्ने प्रशासनिक कार्य र अन्य आवश्यक कामकाजहरु प्राचार्यले आफ्नो निजी कक्षबाट सचांलन गरि रहेको क्याम्पसले जनाएको छ ।












प्रतिक्रिया