सल्यान, १ पुस । सल्यान जिल्लामा महिलामाथी हुने यौन हिंसाका घटना दोब्बरले बृद्धि भएको एक तथ्यांकले देखाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०१६ को तुलनामा जिल्लामा महिलामाथी हुने जबरजस्ती करणी, जबरजस्ती करणी प्रयास तथा दुर्व्यवहारका घटनाहरु दोब्बरले बृद्धि भएका हुन् ।
इन्सेकले शनिबार सल्यानको खलंगामा गरेको मानव अधिकार वर्ष पुस्तक सन् २०१८ मा समावेश हुने घटनाको समिक्षा तथा पुनर्पुष्टि कार्यक्रममा यस्तो बताइएको हो । गत वर्ष जिल्लामा ८ वटा महिला हिंसाका घटना भएकोमा यो वर्ष सो संख्या दोब्बर पुगेको इन्सेक सल्यानकी प्रतिनिधि मिना बुढाथोकीले जानकारी दिइन् ।
यस्तै बालअधिकार अन्तर्गत बालिकामाथी हिंसाका ४ घटना भएका छन् । उनले पछिल्लो पटक आएका जबरजस्ती करणीका थप २ घटना प्रतिवेदनमा समेट्न बाँकी रहेको बताइन । यसमा इन्सेकले यस वर्ष जिल्लामा मानव अधिकार उल्लंघन तथा हनन्का ४२ घटनाहरु सार्वजनिक गरेको छ । जसअनुसार महिला हिंसाका ११ वटा र बहुविवाहका ३ वटा घटना छन् । यस्तै सम्पत्ति तथा संरचनाको क्षतिका २ गिरफ्तारीका ५, धम्की तथा कुटपिटका १ र हत्याका एउटा घटना इन्सेकले सार्वजनिक गरेको छ ।
कार्यक्रममा जिल्ला न्यायधीश मदन बहादुर धामीले मानव अधिकारको प्रतिवेदनले राज्यलाई सधै उत्तरदायी बन्न प्रेरित गर्ने बताए । उनले मानव अधिकारको दायरा फराकिलो भएकोले मानव अधिकारकर्मीहरुले सामाजिक, आर्थिक, सांस्कृतिक तथा अन्य प्रकारका अधिकारको प्रत्याभुतिको लागि राज्यका निकायलाई सधै खवरदारी गर्नुपर्ने बताए ।
यस्तै सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डनले पीडितको घर आगनमै पुगेर घटनाको पुनर्पुष्टि गर्दा अझ वास्तविक कुरा वाहिर आउने बताए । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य टेकराज शाहीले एकाध मानव अधिकारकर्मीले मात्रै जिल्लाको मानवअधिकारका सबै घटनाहरु बाहिर ल्याउन कठिन हुने भएकोले सञ्चार माध्यम र संचारकर्मीहरु पनि मानव अधिकारमैत्री हुनुपर्ने बताए ।
सामुदायिक रेडियो प्रशारक संघका ६ नम्वर प्रदेश संयोजक रमेश कुमार गौतमले पछिल्ला दिनमा पारिवारीक रुपमा धेरै हिंसाका घटनाहरु भएकोले राज्यले त्यस्ता घटना न्युनीकरणको लागी सामाजिक अभियान संचालन गर्नुपर्ने बताए । कार्यक्रम महिला मानवअधिकार रक्षक संजालकी अध्यक्ष शोविता बस्नेतको अध्यक्षता भएको थियो ।












प्रतिक्रिया