– बासुदेव गिरी
प्यूठान, २४ मंसिर । प्यूठानको प्रदेश सभातर्फ दुवै क्षेत्रमा बाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । आइतबार सम्पन्न मतगणनामा प्रदेश (क) मा नेकपा (एमाले)का हरिप्रसाद रिजाल र प्रदेश (ख)मा नेकपा माओवादी केन्द्रका कृष्णध्वज खड्का विजयी भएका हुन् ।
प्रदेश (क)मा रिजालले २४ हजार ७३४ मत प्राप्त गरे । उनका प्रतिष्पर्धी नेपाली काँग्रेसका टेक प्रसाद भण्डारीले १२ हजार ६३९ मत प्राप्त गरेका छन । त्यस्तै, प्रदेश (ख)मा खड्काले २७ हजार ९१० मत प्राप्त गरे । उनका प्रतिष्पर्धी काँग्रेसका अमर प्रसाद भण्डारीले १४ हजार १६८ मत प्राप्त गरेका छन् ।
प्रदेश तर्फका विजयी उम्मेदवारलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार नै एक कार्यक्रमको आयोजना गरि विजयी घोषणासँगै प्रमाणपत्र प्रदान गरेको छ ।
विजयी उम्मेदवारका प्रतिबद्धता
प्रदेशको दुबै क्षेत्रमा विजयी बाम गठबन्धनका उम्मेदवार हरि रिजाल र कृष्णध्वज खड्काले जनताले दिएको मतको सम्मान गर्दै आफूहरुले काम गर्ने प्रतिबद्धता जनाएका छन् । विजयी घोषणा सभामा बोल्दै उनीहरुले नेपाली समाज र मुलुकको लागि आफूहरुले काम गर्ने प्रतिबद्धता जनाए ।
प्रतिनिधिसभाको नतिजा भोली
प्रतिनिधि सभातर्फको मतगणनाको नतिजा भोली (सोमबार) आउने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना शुरु भएदेखि बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका राष्ट्रिय जनर्मोचाका दुर्गा पौडेल अगाडी रहेका छन् भने नेपाली काँग्रेसका डा. गोविन्दराज पोख्रेलले उनलाई पछ्याईरहेका छन् ।












प्रतिक्रिया