– मिना बुढाथोकी
सल्यान, २२ मंसिर । सल्यानमा शुक्रबार बेलुकाबाट मात्र मतगणना हुने भएको छ । १ सय ८० मतदानकेन्द्र रहेको सल्यानमा ५९ केन्द्रबाट मतपेटिका नआएका कारण बेलुका ५ बजेपछि मात्रै मतगणना हुने भएको मुख्य निर्वाचन अधिृकतको कार्यालय सल्यानले जनाएको छ ।
जिल्लाको कालिमाटी गाउँपालिका, दार्मा गाउँपालिका र बन्गाड कुपिण्डे नगरपालिकाका केही मतदान केन्द्रबाट मतपेटिका बोकेर ल्याउनु पर्ने भएकाले मतगणनामा ढिलाई भएको मुख्य निर्वाचन अधिकृत मदन बहादुर धामीले बताए ।
यस्तै मतगणना हुने जिल्ला प्राविधिक कार्यालयको इन्जिनियर भवनमा सीसी क्यामेरा र तारजालीको व्यवस्था गरिएको छ । मत गणनालाई सुरक्षित गर्ने उद्देश्यका साथ तारजाली र सीसी क्यामेरा जडान गरिएको धामीको भनाई रहेको छ । उम्मेदवारहरुकै सहमतिमा तारजाली र सीसी क्यामेरा जडान गरिएको उनले बताए ।
१ लाख ३४ हजार १ सय १३ मतदाता रहेको सल्यानमा ८३ हजार ३ सय ९८ मत खसेको छ । सल्यानमा पुरुषको तुलनामा महिलाले बढि मतदान गरेका छन् । जिल्लामा ३६ हजार ७ सय १६ पुरुष र ४६ हजार ६ सय ८२ महिलाले मतदानमा सहभागिता जनाएका छन् ।












प्रतिक्रिया