– रुपलाल बोहोरा
डोल्पा, १९ मंसिर । डोल्पाका उच्च हिमाली बस्तीहरुमा हिमपात शुरु भएको छ । हिमपातका कारण ती बस्तीहरुको जनजीवन प्रभावित भएको छ ।
डोल्पाका उच्च हिमाली बस्तीहरु धो, छार्का, तिन्जे, भिजेर, मुकोट, साल्दाङ र फोक्सुण्डोका विभिन्न गाउँहरुमा मंगलबार दिउसोदेखि हिमपात हुन सुरु भएको हो । हिमपात हुँदा ती बस्तीहरुको जनजीवन कष्टकर हुने गरी प्रभावित भएको स्थानीयहरुले बताएका छन् ।
नेपालको अति दुर्गम र विकट जिल्ला डोल्पाको पनि विकट माथिल्लो डोल्पाका बस्तीहरु मंगलबार दिउसो १ बजेतिरबाट सेताम्मे बनेका छन् भने हिमपात विस्तारै बेसितिर झरेको स्थानीय रनलाल कुमालले बताए । उनले हिमपातबाट जनजीवन प्रभावित भएको भए पनि कृषकहरुमा खुसि छाएको बताए ।
हिमपात भए पछि माथिल्लो डोल्पाका विभिन्न बस्तीहरुमा एक गाउँबाट अर्को गाउँ जान बन्द भएको छ । निर्वाचनका कारण तराई झर्न ढिला भएकाले घरबाट हिडेका माथिल्लो डोल्पाबासिहरु बाटोमै रहेकाले उनीहरुलाई हिमपातले दुख दिएको माथिल्लो डोल्पाबाट मंगलबार दुनै पुगेका पेम्वा गुरुङले बताए । माथिल्लो डोल्पाबाट तराई झर्न हिँडेका धेरै मानिसहरु बाटो मै आउँदै गरेको उनले बताए । हिमपातले उनीहरुलाई हिड्न समस्या पार्नुका साथै छैन सम्पर्क विहिन बनाएको उनले बताए ।
माथिल्लो डोल्पाका विभिन्न पासहरु चार्कोला, छुराङ्ला, लाङिमार, ङाराला, मरिम्ला, बगला, लुमला, शेपासलगायतका लेकहरुमा ३ फिट भन्दा बढि हिमपात भएको छ भने बस्तीहरुमा कम्तिमा १ फिट हिउँ जमिसकेको फोक्सुण्डोका आङबहादुर लामाले फोनमार्फत जानकारी दिए । हिमपातले माथिल्लो डोल्पा केही दिन सम्पर्कविहिन हुने उनको भनाइ थियो ।
तल्लो डोल्पाका रिमी, काइगाउँ, सर्मी, ओक्ट, होर्तका गाउँहरुको माथिमाथि हिमपात भैसकेको छ । हिमपात जारी रहेकाले रातभरी भारी हिमपात हुने अनुमान रहेको सर्मीबाट लंकबहादुर बुढाले बताए । उनका अनुसार हिमपातले डोल्पाको जनजीवन कष्टकर बनेको छ । एक गाउँबाट अर्को गाउँ जाने आउने मात्र होइन पशुवस्तुहरुलाई चराउन समेत समस्या बढेको छ ।












प्रतिक्रिया