२२ कार्तिक २०८३, आइतबार

लुम्बिनी कोरियन पर्यटकको मुख्य गन्तव्यः राजदूत सीक

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालका लागी कोरियन राजदूत पार्क योंग सीक ।

– नरेश केसी
भैरहवा, मंसिर १९ । नेपालका लागी कोरियन राजदूत पार्क योंग सीकले कोरियन नागरिकहरुको लागी विश्वका पर्यटकीय गन्तव्यमध्ये लुम्बिनी मुख्य भएको बताएका छन् । भैरहवामा पत्रकारसँग कुरागर्दै राजदूत सीकले नेपालका हिमाल र लुम्बिनी कोरियन नागरिकको लागी भ्रमणको मुख्य गन्तव्य भएको बताएका हुन् । त्यसमध्ये पनि बुद्धिज्मको उर्वरथलो लुम्बिनी प्रमुख भएको उनले बताए ।

उनले लुम्बिनीको अझै सहि व्यवस्थापन भएमा लगानीको साझेदारी गरेर कोरियन सरकार लुम्बिनीको पर्यटन प्रबर्द्धनको लागी लगानी लगाउन इच्छुक भएको समेत बताए । उनले यो वर्ष मात्रै ४० हजार कोरियन लुम्बिनी आउने दाबी गरे । आइतबार मात्रै लुम्बिनी विकास कोषका पदाधिकारीसंँग भेटघाट गरेको बताउने राजदूत सीकले लुम्बिनीको विकासको लागी गठन भएको १६ राष्ट्र सम्मिलित विकास समितिलाई सक्रिय बनाउनु पर्नेमा जोड दिए ।

राजदूत सीकले लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायीले आतिथ्यता, खानाको सुधार गर्दै र बौद्ध धर्मको प्रचारप्रसार गरेमा मात्रै पर्यटकको दर हवात्तै बढ्ने सुझाए । उनले भने, ‘यहाँका पर्यटन व्यवसायीले थाईल्याण्डको व्यवसायीबाट धेरै कुरा सिक्नुपर्दछ । आतिथ्यता र खाना राम्रो हुनुपर्दछ ।’

उनले ईपीएस कोटामार्फत कोरिया गएका नेपाली नागरिकको समेत प्रशंसा गरे । कोरियामा रहेका धेरै देशका श्रमीकमध्ये नेपालीहरु सबैभन्दा ठीक भएको उनले बताए । उनले भने, ‘उनीहरु मिहेनती छन्, अनुसाशीत छन् र भाषा पनि छिटो छिटो सिकीरहेका छन् ।’

राजदूतले रुपन्देहीको तामनगरमा रहेको कोरियन टेक्नोलोजी कलेज, लुम्बिनी बौद्ध युनिभर्सटी, फ्युचरलाईट स्कुलको अवलोकन समेत गरेका नेपाल कोरिया विकास परिषदका गम्भिर गुरुङले जनाए । गुरुङका अनुसार कोरियन राजदूतले लुम्बिनीको पर्यटन प्रबर्द्धनमा विशेष चासो दिएको पनि बताए ।