२२ कार्तिक २०८३, आइतबार

चितवन २ मा बाम गठबन्धनको शक्ति प्रर्दशन: को हुन कृष्णभक्त पोख्रेल ? के छन उनका प्रतिबद्धता ?

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– शिशिर सिंखडा

भरतपुर, १८ मंसिर । चितवन क्षेत्र नम्वर २ अन्तर्रगत भरतपुरमा बाम गठबन्धनले आज शक्ति प्रर्दशन गरेको छ । भरतपुरको विशाल चोकवाट सुरु भएको र्याली गणेशथान, आँपटारी, पोखरा बसपार्क हुँदै पुल्चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

को हुन कृष्ण भक्त पोख्रेल ?

चितवन क्षेत्र नं. २ बाट प्रतिनिधि सभाका लागि वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका युवा नेता कृष्णभक्त पोख्रेल वि.सं. २०२४ साल असार २० गते चितवनको पार्वतीपुरमा जन्मिएका हुन् । हाल नेकपा एमाले चितवनको अध्यक्ष समेत रहेका पोख्रेल २०७० सालको निर्वाचनमा चितवनकै क्षेत्र नं. ३ बाट संविधान सभा निर्वाचनमा एमालेका तर्फबाट विजयी सभासद् हुन् । बुबा विश्वनाथ र आमा रेव कुमारी पोख्रेलको कोखबाट जन्मिएका पोख्रेल चितवनका लोकप्रिय अधिवक्ता एवम् कानुन व्यवसायी समेत हुन् । बार एसोसियसन चितवनको जिल्ला अध्यक्ष समेत भईसकेका पोख्रेल नेपाल ल क्याम्पस काठमाडौंबाट कानुन विषयमा स्नातकोत्तर समेत गरेका छन् ।

संविधान सभा निर्वाचनमा विजयी भए पश्चात् संविधान मस्यौदाकार १२ जना मध्ये महत्वपूर्ण भूमिका खेल्ने व्यक्तिका रुपमा समेत उनी रहेका थिए । उनको महत्वपूर्ण भूमिकाका साथ निर्माण भएको संविधान जारी समेत भईसकेको छ । उनै पोख्रेल अहिले चितवनको क्षेत्र नं. २ बाट वाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभामा उम्मेदवार छन् । यस क्षेत्रमा चितवनको कालिका नगरपालिकाको ११ वटै वडा, इच्छाकामना गाउँपालिकाको ७ वटै वडा र भरतपुर महानगरपालिकाको २९ वटा वडा मध्ये १० वटा वडाहरु १, २, ३, ४, ५, ७, १०, ११, १२ र २९ गरी कुल २८ वटा वडाका १ लाख ८ हजार २ सय १९ मतदाता छन् । हालै सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार मान्ने हो भने वाम गठबन्धनको कुल ३८ हजार ७ सय १ र लोकतान्त्रिक गठबन्धनलाई २६ हजार ५ सय २९ मत प्राप्त भएको थियो । यसैलाई आधार मान्ने हो भने यस क्षेत्रमा वाम गठबन्धन १२ हजार १ सय ६२ मतले अगाडि रहेको छ ।

भरतपुरकै १० नं. वडा, रमाईलोचोक स्थायी घर भएका वाम उम्मेदवार पोख्रेलले वाम गठबन्धनको प्राप्त मतको अलावा धेरै मत आफुलाई प्राप्त हुने बताएका छन् । उनले आफ्ना प्रतिष्पर्धी रत्ननगर नगरपालिका स्थायी घर भएका लोकतान्त्रिक गठबन्धनका उम्मेदवार शेषनाथ अधिकारीको भन्दा १५ हजार भन्दा बढी मत प्राप्त गरी आफु विजयी हुनेमा ढुक्क रहेको बताउँछन् ।

उम्मेदवारी दर्ता गरेपछिका दिनहरुमा आफ्नो क्षेत्रमा व्यस्त रहेका पोख्रेललाई प्रदेश सभा चितवन क्षेत्र नं. २ “क” का वामपन्थी उम्मेदवार घनश्याम दाहाल र २ “ख” का उम्मेदवार विजय सुवेदीले साथ दिईरहेका छन् ।

पढ्नोस् पोख्रेलका १४ प्रतिवद्धताहरु:

१) भरतपुर महानगरपालिकामा साईकल मार्ग सहितको चक्रपथ, इच्छाकामना गाउँपालिका स्तरीय चक्रपथ र कालिका नगरपालिका स्तरीय चक्रपथ निर्माण गर्ने ।

२) त्रिशुली नदीलाई हुग्दी हुँदै डाइभर्सन गरी बिजुली, पानी र वैकल्पिक मार्ग निर्माण गर्ने ।

३) काउले, दाहाखानी, दारेचोक, शक्तिखोर, चण्डीभञ्ज्याङ्ग, सिद्धि, कविलास लगायतका ग्रामिण वस्तीहरुमा विद्युतीकरण सम्पन्न गर्ने ।

४) गाईघाटदेखि गोलाघाटसम्म नारायणी नदीको तटबन्धनको राम्रो प्रवन्ध गरी जलयात्रा संचालन गर्ने ।

५) पहाडी सडक भोर्ले, उपरदाङगढी, हात्तीवाङ, हुग्दी, फिस्लिङ, शक्तिखोर, मुग्लिङ, इच्छाकामना मन्दिर पुग्ने सडक निर्माण गर्ने ।

६) कविलास, दारेचोक, चण्डीभञ्ज्याङ्ग, दाहाखानी, काउले, शक्तिखोर, सिद्धिका प्रत्येक वस्तीमा शुद्ध खानेपानी उपलब्ध गराउने ।

७) जुटपानी, शक्तिखोर, सिद्धि हुँदै बाटो निर्माण गरी मलेखु तर्फ जाने चेपाङ मार्गमा जोडी ग्रामिण पर्यटनलाई प्रवद्र्धन गर्ने ।

८) देवघाटलाई धार्मिक पर्यटनको रुपमा विकास तथा इच्छाकामना मन्दिर, लामो झरना, उपरदाङगढी, सिराइचुली जस्ता पर्यटकीय स्थलको प्रवद्र्धन गर्ने ।

९) नारायणगढ बजार र नारायणी किनारलाई सुन्दर, सफा, वातावरण मैत्री बनाई देशकै नमूना शहरको रुपमा विकास गर्ने । भरतपुर महानगरपालिकालाई स्मार्ट सिटी, मेगा सिटीको रुपमा विकास गर्दै देशको दोश्रो पर्यटकीय एवम् व्यापारिक आकर्षणको केन्द्रको रुपमा विकास गर्ने ।

१०) शक्तिखोर औद्योगिक क्षेत्रलाई देशकै प्रमुख औद्योगिक केन्द्रको रुपमा विकास गर्ने । भरतपुर स्थित औद्योगिक प्रदर्शनी केन्द्रलाई बाह्रै महिना प्रदर्शनी रहन सक्ने अन्तर्राष्ट्रियस्तरको केन्द्रको रुपमा विकास गर्ने ।

११) भरतपुर अस्पताललाई मेडिकल कलेजको रुपमा स्तर उन्नति गर्ने, क्यान्सर अस्पताललाई शैक्षिक प्रतिष्ठानको रुपमा विकास गर्ने र समग्र भरतपुरलाई मेडिकल सिटीको रुपमा थप प्रवद्र्धन गर्ने ।

१२) चितवनको पोल्ट्री, दुध, केरा, माछा, तरकारी जस्ता कृषिजन्य उत्पादन वृद्धिको लागि सहयोग तथा यसको देशव्यापी बजारीकरण, आधुनिक प्रविधियुक्त बनाईने र ग्रामिण साना किसानलाई व्यवसायिक बनाउन सहयोग गर्ने । भरतपुरमा व्यवस्थित फलफुल तथा तरकारी बजार निर्माण गर्ने ।

१३) अव्यवस्थित बसोबासी र सुकुम्बासीको जग्गा दर्ताको कामलाई नीतिगत तथा व्यवहारिक रुपमा सम्पन्न गर्ने । बालकुमारी क्याम्पाचौरलाई क्षेत्रीय खेलमैदान र नारायणी कला मन्दिरलाई सुविधा सम्पन्न सभाहल निर्माण गर्ने ।

१४) नगरपालिका तथा गाउँपालिकाहरुमा व्यवस्थित डम्पिङ्ग साइटको व्यवस्था गर्ने । सबैलाई गाँस, बाँस, कपासको व्यवस्था, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेण्टी तथा विभिन्न विकास निर्माण तथा पूर्वाधारहरु निर्माण गर्ने ।

चितवन बारको अपिल अधिवक्ता पोखरेललाई जिताउ

चितवन जिल्ला अदालत बार एसोसिएसनका पूर्व अध्यक्षहरुले आज एक अपिल प्रकाशित गर्दै चितवन बारका पूर्व अध्यक्ष एवम् अधिवक्ता कृष्णभक्त पोखरेललाई प्रतिनिधिसभा सदस्य पदमा चितवन क्षेत्र नं. २ बाट अत्यधिक बहुमतले जिताउन हार्दिक अपिल गरेका छन् । वाम गठबन्धनको तर्फबाट चितवन क्षेत्र नं. २ मा सूर्य चिन्ह लिएर उम्मेदवारी दिएका पोखरेलको पक्षमा अपिल प्रकाशित गर्नेहरुमा पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता धर्मराज आचार्य, पूर्व अध्यक्ष अधिवक्ता प्रकाश रेग्मी, पूर्व अध्यक्ष अधिवक्ता जगन्नाथ भण्डारी, पूर्व अध्यक्ष अधिवक्ता राजकुमार श्रेष्ठ र वर्तमान अध्यक्ष एवम् अधिवक्ता गोपिलाल देवकोटा रहेका छन् ।