२२ कार्तिक २०८३, आइतबार

साहरा सेफ हाउसमार्फत हिंसा पीडितहरुको जीवन परिवर्तन हुँदै

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, १७ मंसिर । बडिमालिका–७ की कमला बोहरा (नाम परिर्वतन) कक्षा ८ पढ्दै गर्दा प्रेममा परिन् । एउटै विद्यालयमा कक्षा १० पढ्ने छिमेकी गाउँको केटा साथीसँग प्रेम बस्यो । विद्यालय समय बाहेक फोन मार्फत कुराकानी बढ्दै गयो ।

त्यो कुरा घरपरिवार र साथीसंगीले पनि थाह पाए । विद्यालय जाँदा अरुले जिक्याउन थाले । २ वर्षदेखिको प्रेमपछि विहेमा परिणत भयो । कक्षा १० पुरा नहुँदै कमला विहे गर्न राजि भईन् । दुबैको एक अर्का प्रति अन्धो विश्वास थियो । विहे गरेको ६ महिना नपुग्दै श्रीमान उच्च शिक्षा पढ्न जिल्ला बाहिर गए । विहे गर्नु पहिले जस्तो फोन सम्पर्क हुन छोड्यो । त्यो बीचमा श्रीमानले उनलाई शंका गर्न थाले । गाउँकै केटाले कमलाको श्रीमानलाई भए नभए कुरा लगाउने र मेरो पूर्व प्रेमीका हो, भनेर कुरा सुनाउन थाले ।

कमला परिवारमा फाटो बढ्दै गयो । श्रीमान फोन गर्दा नउठाउने, राम्रो व्यवहार नगर्ने र घर छोडेर जान दवाब दिन थाले । कमलालाई श्रीमानको व्यवहारमा शंका लाग्न थाल्यो । विना कारण दोष दिएकोमा दुखि पनि बनिन् । सुरुमा त्यो कुरा कसैलाई भनिनन् । जब छोराको पक्ष लिँदै सासु ससुराले पनि नराम्रो व्यवाहार गर्न थाले, घर छोड्न दवाब दिन थाले उनले साहरा खोजिन् । माइति पक्षसँग दुख पोखिन, आफू खुसी विहे गरेको रिसमा पक्षमा बोल्न मानेनन् ।

घरमा बस्ने वातावरण नभएपछि न्यायका लागि मार्तडी पुगिन् । कहाँ जाने र कस्लाई पीडा सुनाउने बारे केही थाह थिएन् । ‘महिला अधिकार मञ्चको बारे सामान्य कुरा रेडियोबाट सुनेकी थिएँ, त्यही आशमा मार्तडी पुगेँ’, कमलाले भनिन् । मार्तडी पुग्दा गाउँकै होटल गरी बस्नेसँग पीडा सुनाईन र सल्लाह अनुसार सुरक्षित आवास गृह पुगिन् । जुन सम्पर्कले अहिले उनलाई नयाँ जीवन दिएको छ । सुरक्षित आवास गृहले हिंसा पीडित महिला तथा बालबालिकालाई संरक्षण दिने र न्यायका लागि पहल गर्ने काम गरिरहेको छ ।

यस्तै सेफ हाउस पीडितका लागि साहरा बनेको घरेलु हिंसा पीडित पाण्डुसैनकी थुमा रोकाया (नाम परिर्वतन)ले भनिन् । उनी तीन पटक मार्तडी पुगिन् । श्रीमानले होटलमा बस्न समेत दिएनन्, सेफ हाउसमा लुकेर बस्नु परेको विगत सम्झन्छिन् रोकाया ।

गृह २०७३ जेष्ठबाट जिल्लामा सञ्चालनमा छ । गृहमा मनोविमर्श कर्तासहित सहजकर्ता पनि कार्यरत छन् । उनीहरुले कमलाको श्रीमानलाई बोलाएर सहजीकरण गरे । लगातार हप्तादिन दुबैलाई सँगै राखेर सम्झाईयो र समस्या बारे दुबैलाई खुलेर कुरा गर्न दिएपछि प्रहरीमा उजुरी दिन आएकी कमला पतिलाई नै रोज्न पुगिन् । घर छोड्न दबाब दिँदै आएका श्रीमान पनि कमलालाई नै श्रीमति मान्न तयार भए । हाल कमलाको परिवारमा कहिल्यै विवाद नहुने गरेको सुरक्षित आवास गहृका मनोविमर्श कर्ता सन्ताषी थापाले बताईन् ।

दुई वर्षको अवधिमा ६५ वटा घटना सेफ हाउसमा दर्ता भएका छन् । हिंसाको सिकार बनेर आएका महिलाहरुलाई ७ दिनसम्म खान बस्न र उपचारका लागि पनि सेफ हाउसमै व्यवस्था मिलाईएको महिला अधिकार मञ्चका अध्यक्ष रुक्मीणी शाहले बताईन् । आएका घटना मध्ये ३१ वटा घरेलु हिंसा, २० वटा बहुविवाह, ५ वटा बाल विवाह, ६ वटा जबरजस्तीकरणका छन् । ती मध्ये ३७ वटा कानुनी उपचारका लागि प्रहरीमा पठाईएको र ५४ वटा मेलमिलाप गरेर पठाईएको कार्यालय सम्पर्क व्यक्ति समेत रहेकी मनोविमर्श कर्ता सन्तोषी थापाले बताईन् । कानुनी उपचारका लागि पठाईएका मध्ये ६ वटाको मुद्दा चलिरहेको छ । ६ वटाको फैसला भईसकेको छ । ९ वटा स्वास्थ्य उपचार सेवा र २ जनालाई आय आर्जनका लागि अनुदान सहयोग समे गरिएको सीता विकले बताईन् ।

न्यायका लागि आउने महिलाहरुको पहिलो सम्पर्क सेफ हाउसमै हुने गरेको छ । आउन जानदेखि खान बस्नको व्यवस्था भएपनि हिंसा लुकाएर बस्नेको संख्यामा पनि कमि भएको छ । हिंसा पीडित महिलाहरुले न्यायका लागि मार्तडी आउनेक्रम बढेको महिला विकास अधिकृत कमला शाहीले बताईन् । मदिरा सेवनको कारण हुने घरेलु हिंसाका घटनामा कमी आएपनि पारिवारीक हिंसा, बाल विवाह, बहुविवाहका घटनाहरु आउनेक्रम बढेको प्रहरी निरीक्षक जगदिशप्रसाद भट्टले बताए । उजुरी प्रहरीमा आउनु पूर्व सेफ हाउसमा आउने गरेको भट्टको भनाई छ ।

सबै कुरा खुलेर गर्न मिल्ने र खान बस्नका लागि सुरक्षा हुने भएकोले सुरक्षित आवास गृह सञ्चालनमा आएपछि न्यायका लागि देढ वर्षको अवधिमा ६५वटा घटना दर्ता भएको भट्टले थपे । सेफहाउस सञ्चालनका लागि युएनएफपीएको सहयोग रहेको छ । तीन जना कर्मचारीसहित पीडित र उनको संरक्षकलाई खान बस्नको व्यवस्था गरिएको छ । उनीहरुलाई स्वास्थ्य उपचार, आवत जावत र कानुनी परामर्श खर्चका लागि पीसविन आस्था परियोजना, महिला तथा बालबालिका कार्यालयले पनि सहयोग गर्ने गरेको छ ।