– दीपक ओली
धनगढी, १५ मंसिर । कैलालीमा मतपत्र बदर दर न्यून गर्न विभिन्न सरोकारवाला निकायहरु सक्रियपूर्वक लागिरहेका छन् । मतपत्र बदर हुने दरमा कमी नआएपछि यतिखेर उनीहरु मतदाताको घरदैलोमै गएर मतदान गर्ने तरिका बारे सिकाउने अभियानमा लागेका हुन् ।
‘मतदान गर्न आफू पनि जाऔं, अरुलाई पनि जान अभिप्रेरित गरौं’ भन्ने नारा सहित निर्वाचन कार्यालयबाट खटिएका मतदाता शिक्षा तथा अन्य संघसंस्थाका प्रतिनिधिहरु नमूना मतपत्र सहित आफूले प्रदान गर्ने मतपत्र बदर नहुन मतदान गर्ने तरिका बारे सिकाउने गरेको कैलालीका निर्वाचन अधिकारी मोहनप्रसाद अर्यालले बताए ।
उनले कैलालीमा विभिन्न संघसंस्थाका मतदाता शिक्षा बाहेक निर्वाचन कार्यालयबाट मात्रै पाँच सय ३८ जना मतदाता शिक्षा मतदान गर्ने तरिका बारे सिकाउन जनताको घरदैलोमा खटिएको जानकारी दिए ।
यहाँ हरेक निर्वाचनमा कुल खसेको मतको १० प्रतिशतसम्म मत बदर हुने गरेको निर्वाचन कार्यालयको तथ्यांकमा उल्लेख छ । यसरी बढी मत बदर हुनेमा ग्रामीण भेगका बासीन्दाको रहेको निर्वाचन अधिकारी अर्यालयको भनाई छ ।
मतदाता शिक्षालाई प्रभावकारीरुपमा लागुगरी आममतदातालाई मतदानमा सरिक हुन अभिप्रेरित गर्न र बदर मतको संख्या घटाउन यसअघि बढी मतपत्र बदर भएका क्षेत्रमा मंगलबारबाट २० जनाको समुह बनाएर आफूले पनि मतदाता शिक्षा खटाएको युवा शान्ति परिषद कैलालीका अध्यक्ष प्रेम ढुंगानाले बताए ।
अध्यक्ष ढुंगानाले धनगढी उपमहानगरपालिकाको फूलवारी, उर्मा, कैलारी, हसुलिया लगायतका दुर्गम ग्रामीणा भेगमा मतदाता अभिमुखिकरण कार्यक्रम मार्फत् मतदातालाई मतदानमा सहभागी हुन आग्रह गर्ने गरेको तथा स्वस्तिक छाप लगाउने तरिका, स्वस्तिक छाप लगाइसकेपछि मतपत्र पट्याउने तरिका बारे सिकाउने गरेको बताए ।
मतदाता शिक्षाले मतदान प्रतिशत बृद्धि गर्न तथा बदर मतको संख्या घटाउन युवा स्वयंसेवीहरूले मतदातालाई मतदानको महत्वबारे जानकारी दिने गरेका छन् । घरआँगनमै नमुना पत्रसहित आएर मतदान गर्ने तरिका बारे मतदाता शिक्षाले सिकाएकोले आफूले ढुक्कका साथ मतदान गर्न सक्ने भएको फूलवारीकी हंसु रोकायाले बताइन् । उनले यसअघिको स्थानीय तहको निर्वाचनमा मतदान गर्न नजानेर मतपत्र बिग्रन्छ भनेर अर्कैलाई मत हाल्न लगाएकी थिइन् ।
उनले भनिन्–‘यसपटक भने मतदाता शिक्षाले घरमै आएर राम्रोसँग मतदान गर्ने तरिका र मतदान गरिसकेपछि मतपत्र पट्याउने तरिका र कुन बाकसमा कुन मतपत्र खसाल्ने भन्ने तरिका बारे राम्रोसँग सिकाएकोले ढुक्कका साथ बदर नगरिकनै मत हाल्नेछु ।’
स्थानीय तहको निर्वाचनमा कैलाली जिल्लामा कुल मतदाता संख्याको ७३ प्रतिशत मत खसेको थियो । यसपटक मतदाता शिक्षालाई निर्वाचन कार्यालय र अन्य संघसंस्थाले अझै प्रभावकारीरुपमा लागु गरेकोले अब हुने निर्वाचनमा मतदाताको संख्यामा बृद्धि हुने र मतपत्र बदर हुने संख्यामा कमी आउने कार्यालयको अपेक्षा रहेको निर्वाचन अधिकारी अर्यालले बताए ।













प्रतिक्रिया