पर्वत, १४ मंसिर । प्रतिनिधि सभाका लागि पर्वत जिल्लाको एक मात्र निर्वाचन क्षेत्रमा संयुक्त बामपन्थी गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरीले देशमा तीब्र गतिमा विकास ल्याउनका लागि बामपन्थी गठबन्धनका उमेदवारलाई विजयी गराउन आव्हान गरेका छन् ।
निर्वाचन अभियानका क्रममा बिहीवार जलजला गाउँपालिका वडा नम्बर ८ नाग्लीवाङमा आयोजित चुनावी सभामा बोल्दै गिरीले यस्तो बताएका हुन् । स्रोत र साधनले भरिपूर्ण हाम्रो देशको आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि स्पष्ट योजना, काम गर्ने तत्परता र समन्वय गर्ने कार्यशैली बामपन्थीहरुसँग मात्रै भएकाले देशको तीब्र विकासका लागि बाम गठबन्धनलाई सहयोग गर्न उनले आव्हान गरे ।
नेपाली काँग्रेसले तीन पटकसम्म बहुमतको सरकार बनाउदा पनि स्थिर सरकार र विकास निर्माणमा कुनै नयाँपन दिन नसकेको आरोप लगाउँदै उनले छोटो समय सत्तामा बस्दा पनि बामपन्थीहरुले जनताले महसुस गर्ने खालका कार्यक्रम ल्याएको दाबी गरे । जनताले विभिन्न स्रोत परिचालन गरी निर्माण गरेका संरचनाहरुलाई मैले गरेको भन्दै कतिपय उमेदवारहरुले जस लिन खोजेको भन्दै उनले डेढ दशकसम्म जनताको अभिमत लिएर पनि जनताका पक्षमा काम नगर्नेहरुको पछि नलाग्न आग्रह गरे ।
कार्यक्रममा पर्वत जिल्ला क्षेत्र नम्बर १ प्रदेश सभा (क)मा बामपन्थी गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका नेत्रनाथ अधिकारीले स्थिर सरकार गठन गरी समृद्ध मुलुक निर्माणका लागि बाम गठबन्धनको विकल्प नभएको बताए ।












प्रतिक्रिया