काठमाडौँ, १४ मंसिर । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले निर्वाचन अवधिभर सामाजिक सञ्जालको प्रयोग गर्दा आचारसंहिताको ख्याल गर्न आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासंघको आयोजनामा भएको ‘निर्वाचन र सामाजिक सञ्जाल’ विषयक छलफल कार्यक्रममा बोल्दै प्रवक्ता ढकालले निर्वाचनबारे जानकारी दिन सामाजिक सञ्जालको प्रयोग भैरहेको भन्दै निर्वाचन आचासंहिता पालना गर्न सबैलाई आग्रह गरेका हुन् । ढकालले निर्वाचनको वातावरण तयार गर्न सञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहेको बताए ।
कार्यक्रममा नेपाली काँग्रसका नेता तथा पूर्व सांसद रामहरि खतिवडाले आग्रह र पूर्वाग्रह नराखी सामाजिक सञ्जालको प्रयोग गर्न आवश्यक रहेको धारणा व्यक्त गरे । नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले समाजमा वर्षेनी दश प्रतिशतले सामाजिक सञ्जाल प्रयोगका क्रममा अपराध बढिरहेको जानकारी दिँदै घटनामा कमी ल्याउन जनचेतना जगाउन र प्रविधिको सही सदुपयोग गर्न आग्रह गरे ।
महासंघका सल्लाहकार तीर्थ कोइरालाले पत्रकारहरु निस्क्रिय रहेकाले सामाजिक सञ्जालको लोकप्रियता बढिरहेको उल्लेख गर्दै सामाजिक सञ्जाल समाचारको स्रोत समेत बन्ने गरेको बताए । उनले समाजिक सञ्जालको सही सदुपयोग गर्न पत्रकारलाई आग्रह गरेका छन् ।
महासंघका महासचिव रमेश विष्टले सामाजिक सञ्जाल प्रयोगका राम्रो–नराम्रो दुवै पक्ष भएको भन्दै सामाजिक सञ्जालले नागरिकको व्यक्तिगत स्वतन्त्रताको प्रयोग गर्न सहज भएको धारणा व्यक्त गरे । उनले सामाजिक सञ्जाल प्रयोग गर्दा पत्रकार सहित सबैले विवेक प्रयोग गर्नुपर्ने धारणा राखे । अन्तर्राष्ट्रिय पत्रकार महासंघ दक्षिण एसियाका संयोजक उज्ज्वल आचार्यले निर्वाचनका क्रममा चुनावी प्रचारप्रसार, आफ्नो पक्षमा जनमत सृजना गर्न, दलको प्रचार गर्न, उम्मेदवारप्रतिको भ्रामक सूचनाको खण्डन गर्न, दलप्रतिको मोह वृद्धि गर्न र नागरिकप्रति जवाफदेही देखाउन सामाजिक सञ्जालको प्रयोग गरिएको बताए । कार्यक्रममा दी रिपब्लिक डेलीका सम्पादक सुवास घिमिरेले पत्रकारले समाजिक सञ्जाल कसरी प्रयोग गर्ने भनेर आचारसंहिता बनाउन आवश्यक रहेको बताएका थिए ।












प्रतिक्रिया