आयोवा, अमेरिका । त्यतिबेला मानिसहरुमा अमेरिका जाने मोह थियो, जसरी हाल यूरोप, जापान कोरिया जाने मोह मानिसहरुमा बढ्दो छ । अमेरिका जान त्यति सजिलो थिएन र अमेरिका गएकाहरुको त्यतिबेला छुट्टै सान हुने गर्दथ्यो । मानिसहरु अमेरिका जाने भनेपछि मरिहत्ते गर्थे ।
यस्तोमा नवलपरासी जिल्लाको प्रगतिनगर बस्ने देवप्रसाद बास्तोला पनि अमेरिका आइपुगे । प्रगतिनगरकै जनज्योति माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरी काठमाडौँको अमृत साइन्स कलेजबाट आइएस्सी गरेका बास्तोला २८ बर्ष अघि कम्प्युटर इन्जिनियर बन्न अमेरिका आइपुगेका हुन् । अमेरिका पुग्ने अन्य नेपालीमा जस्तै उनमा पनि मनग्गै पैसा कमाउने रहर थियो । त्यसैले नै ल्यान्ड अफ अपर्चुनिटी (अवसरहरुको मुलुक) अमेरिका पुगेका थिए ।
क्यालिफोर्निया युनिभर्सिटीबाट चार बर्षको कम्प्युटर इन्जिनियर कोर्स पूरा गरेर आइटीको जागिर गरिरहेका बास्तोलालाई उनले काम गर्ने कम्पनीको सिईओले भने, ‘जागिर गरेर बस्यो भने तिम्ले जहान बच्चा मात्र पाल्ने हौ । बिजनेसतिर बिचार गर्यो भने तिमी साँच्चै राम्रो धन कमाउँछौ ।’ सिईओको त्यो कुराले उनको मन छोयो । त्यसपछि उनलाई व्यवसायमा हात हाल्न मन लाग्यो । काम गरेर कमाएको पैसा अलिअली बचत गर्दागर्दै उनले ५० हजार जम्मा गरे । त्यति पैसा उनलाई नयाँ व्यवसाय सुरु गर्नको लागि काफि थियो । त्यही पैसा लगानी गरेर उनले आयोवा स्टेटको क्वार्ड सिटीमा ग्यास स्टेशन किने ।
गरे के हुँदैन र ! ५० हजार लगानी गरेर व्यवसाय सुरु गरेका बास्तोलाको हालसम्म व्यवसायबाट नै करोडौँ कमाइ गरिसकेका छन् । त्यतिबेलाको मासिक ५ हजारको कम्प्युटर इन्जिनियरिङको जागिर चटक्क छोडेर उनले व्यवसायमा लगानी गरेका थिए । सुरुवातमा उनलाई आफूले दुःख गरेर कमाएको पैसा कालो ओडारमा खनाए जस्तो भएको थियो । व्यवसाय चौपट हुने हो कि भन्ने डरले उनी रातमा निदाउनै नसक्ने अवस्था थियो । कतिपय समयमा उनलाई हुँदा खाँदाको जागिर छोडेर व्यवसाय सुरु गर्दा गल्ती पो गरेँ कि भन्ने पनि आभास नभएको होइन । त्यो अन्जान सहरमा आफ्नो भन्ने मान्छे उनको कोहि थिएन । त्यति पूरै सहरमा नेपालीहरु नै थिएनन् ।
अञ्जान सहरमा एक्लो नेपालीको रुपमा व्यवसाय सञ्चालन गरेका बास्तोलाले एक/एक पेन्नी (पैसा)को महत्व बुझेका थिए । उनलाई नेपालमा हुँदा पैसाको अभाव थिएन । उनको पढाईमा बुवाआमाले नै लगानी गरेका थिए । र, अमेरिका आएपछि त्यतिबेला पनि मासिक ५००० डलर तलब बुझ्ने मान्छेलाई एक/एक पेन्नीको फाइदाको काम गर्दा झमेला पनि लाग्यो ।
कयौंपटक उनले व्यवसाय छोडेर जागिरमा फर्किने विचार पनि गरे । तर मन नगागी नलागी पनि उनले व्यवसाय नै गरे । करिव एक महिनापछि आफ्नो व्यवसायको हिसाब गर्दा करिब ५००० जति नाफा भएको देखेर उनी दंग परे । त्यो राति उनलाई राम्रो निन्द्रा पनि लाग्यो । भोलिपल्ट बिहान पनि उनले आफ्नो शरीरमा छुट्टै किसिमको उर्जा आएको महशुस गरेका थिए । ‘अब म व्यवसायमै रमाउनुपर्छ’, उनले अठोट गरे । उनले आफ्नो कमाइ जति सबै व्यवसायमै लगानी गर्न थाले । त्यसको एक बर्षमा उनी व्यवसायको ऋणबाट पनि मुक्त भए ।
दोस्रो बर्षदेखि उनले व्यवसायलाई बृद्धि गर्न थालेका थिए । त्यसअनुसार फाइदा हुँदै गएपछि ४/५ बर्षभित्र आफू काबिल व्यवसायी बनेको उनलाई महशुस भयो । हाल उनको आफ्नै लगानीको ग्यास स्टेशनदेखि मोटल र फ्रेन्चाइज होटल पनि छन् ।
आयोवामा हाल करिव १०० को संख्यामा नेपाली छन् । त्यसमध्ये करिव ४० जति नेपाली परिवारले आफ्नै व्यापार व्यवसाय गर्छन् । ती धेरै जसोलाई व्यापार व्यवसायमा तान्ने यिनै बास्तोला थिए । करिब एक दर्जन व्यवसायी त उनकै व्यवसायमा काम गरेका पुराना कामदारका हुन् । अमेरिका आउने हरेक मान्छेको जीवन व्यस्त हुन्छ । सबैलाई आफ्नै कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता हुन्छ । अरुको लागि सोच्ने मान्छे अत्यन्तै कम मात्र हुन्छन् । अझ धेरै व्यवसायी त धन कमाएपछि अन्धो नै बन्छन् । आफ्नो वरपर सकैलाई पनि देख्दैनन् । तर बास्तोला यसको ठीक विपरीत छन् । उनी निकै दयावान् व्यवसायी हुन् । उनले आफ्नो मात्रै होइन, आफ्ना साथीभाई, इष्टमित्र नातागोताको पनि चिन्ता गर्छन् । परिआएको बेला जसलाई पनि सहयोग गर्न पछि हट्दैनन् ।
उनलाई सबैभन्दा बढि आफ्नो देश नेपालकै माया छ । अमेरिकामा बसेर अथाह पैसा कमाइ सकेका बास्तोला बेलाबेलामा समय मिलाएर नेपाल फर्किन्छन् । हाल उनी नेपालमै छन् । बास्तोला यो पटक फरक सोचाइमा छन् ।
एकजना साथीले आफ्नो काम गर्ने शिलशिलामा उनलाई काठमाडौँ महानगरपालिकामा पु-याएछन् । महानगर प्रमुख बिध्यासुन्दर शाक्यको कुरा सुनेपछि मुलुक साच्चै परिवर्तन हुँदैछ भन्ने कुराले उनलाई निकै प्रभावित बनायो । उनलाई तत्काल आफ्नो खल्तिमा भएको केही हजार मात्र भएपनि सहयोग गर्ने इच्छा जाग्यो । उनले मेयरलाई भने – ‘तपाईको काम र व्यबहारबाट मलाई खुशी लाग्यो । मैले असहाय बालबालिकाको पढाइको लागि केही हजार रुपैयाँ अहिले तत्काल दिन्छु । बाँकी अमेरिका गएपछि पठाउँला । मुलुक निर्माणका लागि हामी विदेश गएकाहरुको पनि योगदान हुनुपर्दछ ।’ यसो भन्दै उनले केही रकम मेयर शाक्यलाई हस्तान्तरण गरी हाले ।
उनले नेपाल आउँदा सहयोगको हात अघि बढाएको यो पहिलो पटक भने होइन । उनी चितवनलगायतका स्थानहरुका गरिव बस्तिहरुको अवस्था हेर्न गाउँ जाने गरेका छन् । चेपाङ बस्तिमा पुगेर आर्थिक रकम सहयोग पनि गरेका छन् । ‘दुखी गरिब र असहायहरुलाई सहयोग गर्दा आनन्द आउँछ’ उनले भने । विदेशमा रहेर व्यापारमा सफल भएका अन्य व्यवसायीहरु नेपाल आउँदा उनीहरुको रवाफ छुट्टै हुन्छ । यस्ता अधिकांश व्यापारी राष्ट्रपति, प्रधानमन्त्री तथा पार्टीका ठुला ठुला नेताहरुसँग फोटा खिचेर आफ्नो रवाफ देखाउँछन् । तर बास्तोला यस्तो कुरामा कहिल्यै विश्वास गर्दैनन् । उनले आफूले आफूलाई कहिल्यै आडम्बरी मान्छेको रुपमा लिएनन् ।
हाल नेपाललाई यस्तै दयावान् समाजसेवीको खाँचो छ । आर्थिक सम्मृद्धिको उकालो चढ्न तम्तयार भएको हाम्रो देशलाई यस्ता मानिसहरुले नै उचाईमा पु¥याउन सक्छन् । जसले आफ्नो मात्रै नहेरी देशको पनि केही भलो होस् भन्ने चिताउँछ, त्यस्ता मानिसहरुले देश विकासमा सहयोग गर्न सक्छन् । अब देशमा लगानीको खाँचो छ । विदेशमा सफल व्यापारीको रुपमा स्थापित भएको बास्तोला जस्ता नेपालीले देशमा लगानी गरे नेपाल पनि छिट्टै विकसित हुनेमा दुईमत छैन ।















प्रतिक्रिया