– शालिग्राम नेपाल
चितवन, १२ मंसिर । भारतको प्रख्यात दुग्ध उत्पादक ब्राण्ड अमुलले नेपालमा उन्नत गाइ पालन गरेर दुध उत्पादन गर्न सकिने विषयमा अध्ययन सुरु गरेको छ । व्यवसायिक रुपमा दुग्ध उत्पादन गरी त्यसबाट राम्रो आयआर्जन गर्न सकिने भन्दै धेरै दुध दिने जातको गाइ पालनको लागि कसरी सहयोग गर्न सकिने भन्ने बारेमा अमुलले छलफल गरेको छ ।
चितवनको निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार तथा पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेको पहलमा नेपाल आएका प्रतिनिधिले पूर्वी चितवनको रत्ननगरमा व्यवसायिक किसानहरुसँग छलफल गरेको हो । निर्वाहमुखी पशु पालनले व्यवसायिकता लिन नसक्ने भन्दै प्रशस्त आम्दानी गर्न सकिने पशु पालन गर्नुपर्ने विषयमा छलफल भएको हो । गाई पालनका लागि चितवन जिल्ला उर्वर भूमी भएकाले यहाँका किसानलाई एक दिनमा ६० लिटर सम्म दुध दिने गाई पाल्न सकिने विषयमा अध्ययन थालिएको छ ।
अमुल ब्राण्ड साउथ एशिया फाउण्डेशनका सचिव राहुल वरुणाले उन्नत गाई पालन गर्ने किसान तयार भए त्यसको लागि सहयोग गर्न सकिने बताए । दैनिक १० देखि २० लिटर दुध दिने गाई नभई अब ६० लिटर दुध दिने गाई पाल्न सकिने उनले बताए । धेरै दुध उत्पादन गर्ने र दुध प्रशोधन गरी विभिन्न परिकारहरु बजारमा लान सकिने उनले बताए । त्यसको लागि यहाँको सरकारी निकाय, दुग्ध सहकारीहरु, व्यवसायिक पशुपालक किसानहरुसँगको छलफल पछि एउटा नीति लिन सकिने उनले बताए । स्थायी सरकार भएमा काम गर्न सकिने उनको भनाइ थियो ।
छलफल कार्यक्रममा पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेले अब निर्वाहमुखी पेशाबाट व्यवसायिक कर्म गर्नु पर्ने बताए । चितवन कृषिको लागि उपयुक्त स्थान भएकाले अहिले सञ्चालन भइरहेका पशु पालनलाई माथि उकासेर व्यवसायिक गर्नु आवश्यक रहेको उनको भनाइ छ । उनले भने, ‘त्यसको लागि स्थायी सरकारले काम गर्न सक्दछ ।’ देश र जनताको पक्षमा रहेर सहयोग गर्ने भए यहाँको किसानको जीवनस्तर माथि उकास्नको लागि आफ्नो पहल कदमी हुने पाण्डेले बताए । छलफलमा सचिव वरुणाले मिलेर काम गर्न तयार भएको भन्दै मिल्क प्रोसेसिङको लागि सहयोग गर्ने बताए ।
छलफलमा नेकपा एमालेका जिल्ला उपाध्यक्ष तेजेन्द्र बहादुर खड्का, किसान भागीरथ तिमल्सिना, आनन्द न्यूरेलगायतले सकरात्मक कामको लागि सहयोग गर्ने बताए । भारतीय टोली नेता पाण्डेको पहलमा उन्नत गाई पालनको विषयमा अध्ययन गरी लगानी गर्न चितवन आएको थियो ।












प्रतिक्रिया