गुलरिया (कञ्चनपुर), १२ मंसिर । आउँदो एक वर्षभित्रमा कञ्चनपुर पुरै जिल्ला हराभार हुने योजना अगाडि बढाइएको छ । महाकाली तेस्रो सिचाइँ आयोजनाका कारण पुरै जिल्ला हराभरा हुने भएको हो ।
‘म मन्त्री हुँदा सुदूरपश्चिमकै इतिहासमा यति ठूलो योजना कार्यान्वयनमा ल्याएको छु’, पूर्वमन्त्री तथा कञ्चनपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एनपी साउँदले भने, ‘१६ अर्बको यो योजना छिट्टै सम्पन्न हुनेछ, यसले कञ्चनपुर मात्रै नभएर कैलालीका पनि कतिपय भागमा सिचाइँ सुविधा पुग्ने छ ।’
जनतालाई आस्वासनभन्दा काम चाहिएकाले आफू त्यही चाहना अनुरुप अगाडि बढेको उनले बताए । जन्मदै प्रजातन्त्रका लागि लडेको काँग्रेसले पछिल्लो समय निरंकुशताको अन्त्य र शान्ति स्थापनाका लागि निकै मिहिनेत गर्नुपरेको स्मरण गराउँदै साउँदले भने, ‘नेपाली काँग्रेसले प्रजातन्त्रका लागि लड्यो, निरंकुशता फाल्न निकै मिहिनेत गर्यो, बारुद र बन्दुकसँग रमाएको माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर भनेको समयभन्दा ६ महिना पहिले नै संविधान दियो, अब काँग्रेसको काँधमा आर्थिक समृद्धिको अभिभारा आइलागेको छ ।’
उनले त्यो अभिभारा पुरा गर्ने सुरुवात यस्तै परियोजनाबाट सुरु हुने बताउँदै भने, ‘आर्थिक समृद्धि भनेको घरघरमा ल्याएरु पैसा बाँड्ने होइन, आर्थिक उपार्जनको वातावरण बनाउने हो । महाकाली तेस्रो जस्तो सिचाइ परियोजनाले यस क्षेत्रका जनताको आर्थिक उपार्जनमा तीन गुुना वृद्धि हुनेछ ।’
काँग्रेसका प्रभावशाली नेता साउँदले यस क्षेत्रमा रहेको सुकुम्बासी र भूमीहिन समस्या समेत आफू विजयी भएको एक वर्षमै समाधान गर्ने वचनवद्धता गरे । उनले नेपाली काँग्रेसकै पालामा सुकुम्बासी आयोग बनेको र उसले काम गरिरहँदा विभागीय मन्त्रालय एमालेसँग भइदिँदा काम गर्न नपाएको अप्ठेरो पनि खुलासा गरे ।
‘हामीले सुकुम्बासी भूमीहीनलाई जगा दिने तयारी गर्यौँ’, नेता साउँदले भने, ‘एमालेले होटेलका कोठामा बसेर बास्तविक पीडितलाई उपेक्षा गरेर एक लाख आफ्ना कार्यकर्तालाई फम भराउने काम गर्यो ।’ अब आफूलाई निर्वाचित गरेर पठाएको एक वर्षभित्रमा सबैको घरघरमा लालपूर्जा लिएर आउने उनले बताए ।
कञ्चनपुर क्षेत्र नम्बर २ बाट केन्द्रमा एनपी साउँद र श्यामलाल राना त्यस्तै प्रदेशसभामा पुस्कर राज ओझा, बहादुरसिंह थापा (प्रत्यक्ष) गीता चौधरी, देवराज पाठक (समानुपातिक) गरी ६ जना उम्मेदवार काँग्रेसले दिएकाले यी सबैलाई विजयी गराएमा यस क्षेत्रको कायापलट हुने जिकिर साउँदले गरे ।
उनले आर्थिक समृद्धिका लागि लालपूर्जा हतियार सावित हुने बताए । कम्युनिष्टका कारण रोकिएको लालपूर्जा जनताका हातमा दिनसके त्यसले बैंकिङ कारोबारदेखि अन्य आर्थिक आधार बन्ने पनि साउँदले बताए ।
कम्युनिष्टहरुले युद्धको नाममा जनतालाई तास च्यातेर खुआए पनि आफू सत्तामा हुँदा क्यासिनोका नाममा त्यसलाई सहर पसाएको साउँदले बताए । उनले भने, ‘जुवातासलाई क्यासिनोको नाममा सहर पसाएर सहर बर्बाद बनाए, गाउँमा किसानलाई अर्धबेरोजगरा बनाएर राखे ।’ तर काँग्रेसले हरेक जतालाई आर्थिक उपार्जनको आधार तयार गर्ने योजना बनाएको उनले बताए । त्यसका लागि बाटोघाटो, सडक, पुल, नहर, सिचाइँ दिएर जनताको उत्पादनलाई दुगुना बनाएर सहजै बेच्नसक्ने बजार प्रवद्र्धनको आर्थिक अभियानमा काँग्रेस लागेको उनले बताए । त्यसका लागि आफूले मन्त्री हुँदा नै यस क्षेत्रका पुल पुलेसा, नदी नाला नियन्त्रण, तटबन्धन, सिचाई, नहर र लालपूर्जाको लागि पहल गरिसकेको उनले बताए ।
यसअघि कलुवापुरमा भएको चुनावी सभामा कञ्चनपुर २ बाट प्रतिनिधिसभा उम्मेदवार साउँदले यस क्षेत्रका हरेक समस्या समाधानका क्रममा रहेको बताउँदै कञ्चनपुरमात्र नभएर सुदूरपश्चिममै समृद्धि भित्र्याउन चार लेनको पुल महेन्द्रनगरको दोधाराचाँदनीमा काँग्रेसले सम्झौता गरेर सिलान्यास गरिसकेको बताए ।
शुक्लाफाँटा ८ को पिल्लरी फाँटाका अगुवा लक्ष्मी बुढाले आफ्नो गाउँमा कुनै पनि सुविधा नभएको गुनासोप्रीत सम्बोधन गर्दै नेता साउँदले भने, ‘तपाइँहरुको सबै प्रक्रिया एमालेले लालपूर्जा वितरणको प्रक्रियामा गरेको बदमासीले रोकिएको हो । म चुनिएर गएको ६ महिनामा पिल्लरीफाँटामा बत्ति, विजुली, पानी, स्कुल, बाटोको व्यवस्था हुन्छ ।’












प्रतिक्रिया