काठमाडौं, १० मंसिर । काठमाडौँ महानगरपालिकाका पूर्व मेयर समेत रहनु भएका वाम गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नम्बर–६ ‘क’ का उम्मेदवार केशव स्थापित आइतबारबाट चुनावी प्रचारका लागि घरदैलो कार्यक्रममा व्यस्त बन्नु भएको छ । बागबजारका स्थानीय स्थापित चुनावी घरदैलोमा निस्किएसँगै उहाँले त्यस क्षेत्रका वृद्ध-वृद्धा, युवा सबैको राम्रो समर्थन प्राप्त गर्नुभएको छ ।
आइतबार काठमाडौँ महानगरपालिकाको वडा नम्बर-२८ वागबजारबाट उहाँले चुनावी घरदैलो सुरु गर्दै गर्दा ९० वर्षीया नानीमैया खड्की चिम्सा आखाँ बनाउँदै स्थापितको छेऊमा पुग्नुभयो । स्थापितले नानीमैयालाईनेवारी भाषामै हाल खवर छुदु माः ? अर्थात के छ आमा हालखवर ? भन्नुभयो । स्थापितको प्रश्न भुँईमा खस्न नपाउँदै नानीमैयाले पनि ‘बाबू छंङ्गु इच्छा पूरा जुइमाः बाँलाक ज्याः याना वनेफयेमा’ अर्थात बाबू तिम्रो इच्छा पूरा होस्, राम्रोसँग काम गरेर जान सकोस्’ भन्दौ आशिष दिनुभयो । स्थापितले पनि मुसुक्क हाँसेर नानीमैयाको हात समाउँदै ‘छिगुयः मचाः ख जी अर्थात म तपाईँकै छोरो हुँ’ भन्नुभयो र फेरि अघि बढ्नुभयो ।
तडक–भड्कसहितको चुनावी प्रचार नगर्ने तयारीमा रहनु भएका स्थापित आइतबार यसरी चुनावी प्रचारमा निस्किदाँ न उहाँको हातमा पर्चा थिए न त कुनै ठूला–ठूला झण्डा र तुल ब्यानर नै । बरु उहाँलाई हरेक घरदैलोमा पुग्दा मतदाताले स्वागत गरेका खादा भने गलाभरी टन्न थिए । ‘मैले जनताबाट अपार मायाँ भएको छु,’ उहाँले भन्नुभयो, ‘म जनप्रतिनिधि नहुँदा पनि काठमाडौँको विकासमा अहोरात्र खटिएको व्यक्ति हुँ । त्यसैले मैले यसो गर्छु, उसो गर्छु भनेर भोट माग्न जरुरी छैन ।’
उहाँले जनताको घरदैलोमा जाँदा पाँच वर्षको स्थायी सरकार वाम गठबन्धनले बनाउँने र देशको मुहार फेर्ने एक मात्र एजेण्डा लिएर गएको पनि दाबी गर्नुभयो । ‘कांग्रेसको जस्तो जाली कुरा गर्न हामीलाई जरुरी छैन,’ उहाँले भन्नुभयो, ‘मसँ प्रतिस्पर्धा गर्ने उम्मेदवार मेरो क्षेत्रमा छैन । मतदाताको घरमा जाँदा उहाँहरुले देखिएको सहभागिता र सहानुभूति देख्दा मैले जिते सरह भएको छ ।’
उहाँले आफू विजयी भएपछि प्रदेशसभा कस्तो बन्ने, सभा कहाँ गर्ने, मन्त्री कहाँ बस्ने, राजश्व कसरी उठाउने लगायतका विषयमा योजना ल्याएको पनि दाबी गर्नुभयो । उहाँले ६ नम्बरका साथै समग्र उपत्यकाको विकासका लागि दर्जनौं योजना अघि बढाएको भन्दै काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धने जित्ने पनि दाबी गर्नुभयो । उहाँले प्रदेश हाँक्न सक्ने क्षमता भएको व्यक्ति पनि आफू भएको भन्दै जनताले विजयी गराएर पठाउने मा ढुक्क भएको दाबी गर्नुभयो ।













प्रतिक्रिया