धनगढी, ९ मंसिर । सकारले धनगढीमा रहेको सेती अञ्चल अस्पतालको स्तरोन्नती गर्ने निर्णय पारित गरेको छ । कैलाली क्षेत्र नम्बर ५ का नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार नेतृ डाक्टर आरजु राणा देउवाको विषेश पहलपछि सरकारले सेती अञ्चल अस्पताललाई तीन सय सैयाको अस्पताल बनाउने निर्णय पारित गरेको जनाइएको छ ।
मन्त्रीपरिषद्को शुक्रबार बसेको बैठकले हाल एक सय ५० सैयाको अञ्चल अस्पतालको स्तरोन्नती गरी तीन सय सैयाको बनाउने निर्णय गरेको छ । यससँगै यो अस्पताल क्षेत्रीय अस्पतालका रूपमा स्तरोन्नती हुने बाटो खुलेको छ । प्रतिनिधि सभा सदस्य उम्मेदवार डाक्टर आरजुले एक साताअघि अस्पतालको निरीक्षणका क्रममा स्तरोन्नतीका लागि विशेष पहल गर्ने बताएकी थिइन् ।
‘म प्रदेश नम्बर ७ मा शिक्षा, स्वास्थ्य तथा रोजगारीका क्षेत्रमा तीब्र विकासको आकांक्षासहित नै यहाँबाट चुनाव लडेकी छु’ शनिबार नेपाल मेडिकल एसोसिएसनले धनगढीमा आयोजना गरेको अन्तरक्रियामा उनले भनिन्, ‘मन्त्रीपरिषद्बाट यो अस्पतालको स्तरोन्नतीका लागि निर्णय पारित गरिएको छ, अब केही दिनभित्रै बजेट विनियोजन प्रक्रिया हुनेछ ।’ उनले स्तरोन्नतीपछि अत्याधुनिक उपचार सेवा, आइसीयु कक्षलाई थप व्यवस्थित गरिने र आधुनिक र सुविधासम्पन्न प्रसुति गृहको निर्माण हुने बताइन् ।
अन्तरक्रियामा डोटी बुडरका गोरखबहादुर लामा, धनगढी चटकपुरका अर्जुन डगौंरा लगायतले स्तरीय उपचार सेवाको अभावका कारण बिरामीहरूले ऋण काडेर पनि भारत र राजधानीका अस्पताल धाउनु परेको अनुभव सुनाए । अन्तरक्रियामा सेती अञ्चल अस्पताल विकास समितिका अध्यक्ष रिता भण्डारी बमले हाल सरकारी स्तरबाट ५० सैया मात्रै रहेको र अस्पतालमा एक सय ६ जना स्वास्थ्यकर्मी तथा कर्मचारीको दरबन्दी रहे पनि हाल ८९ जनामात्रै कार्यरत रहेको जानकारी दिइन् ।












प्रतिक्रिया