– दिपक बोहरा
तुलसीपुर (दाङ), ९ मंसिर । बाम गठबन्धनका तर्फबाट दाङ क्षेत्र नम्बर ३ को प्रदेशसभा १ का उम्मेदवार जग प्रसाद शर्मा ‘अपार’ले देश चलाउने नेतृत्व राम्रो नभए दुर्घटनामा पर्ने बताएका छन् । शनिबार तुलसीपुर–१४ मा भएका विभिन्न चुनावी सभामा उनले अब देशलाई विकास गर्न सच्चा नेतृत्व चयन गर्नुपर्ने बताए ।
पछिल्लो समय देशमा व्याप्त भ्रष्टाचार, अनियमितता जस्ता कारणले विकास र समृद्धिले दिशा लिन नसकेको भन्दै उनले अब सच्चा, ईमान्दार व्यक्तिलाई नेतृत्वमा पठाउनु पर्ने बताए । देश समृद्धिको मार्गमा हिडिरहेको भन्दै त्यसलाई सही मार्गमा हिडाउन देश चलाउने ड्राईभर पनि सक्षम हुनुपर्ने उनको भनाई थियो । ‘गाडि राम्रो भएपनि चलाउने ड्राईभर सक्षम भएन भने दुर्घटनामा पर्छ’ उनले भने ‘त्यसैगरी देश चलाउने ड्राईभर पनि सक्षम भएन भने दुर्घटनामा पर्न सक्छ ।’
माओवादी केन्द्रका स्थायी कमिटि सदस्य समेत रहेका अपारले एमाले र माओवादी केन्द्रबीचको एकताले मुलुकलाई सम्बृद्ध बनाउने दिशामै लैजान सहज हुने बताए । अहिलेको चुनाबमा पनि एमाले र माओवादी केन्द्रको संयुक्त बामगठबन्धले दुई तिहाई बहुमत ल्याउने र स्थायी सरकार निर्माण हुने उनको भनाई थियो । स्थायी सरकार भएर आफुले सोचे अनुसारको विकास गर्न सकिने उनले बताए । यसमा कसैले पनि अबरोध नगर्ने उनी बताउँछन् ।












प्रतिक्रिया