– मिना बुढाथोकी
सल्यान, ८ मंसिर । सल्यानमा आज बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । रोल्पाको राँकबाट दाङ तुलसीपुरका लागि छुटेको राप्ती समितिको ना ३ ख ८०७७ नम्बरको बस शुक्रबार दिउँसो ३ वजे शारदा नगरपालिका ६ वरलामा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परि घाईते हुनेमा सल्यान बानपा–८ का ३० वर्षीय सर्जन केसी, सोही ठाउँ बस्ने १३ वर्षीया भगवती विक, शारदा नगरपालिका–१२ का २८ वर्षीय हिरालाल विक, दमाचौर–१ का २१ वर्षीय छविलाल विक, कपुरकोट गाउँपालिका–४ निवासी १७ वर्षीय केशव महतारा, शारदा नगरपालिका–१ निवासी ३९ वर्षीया मनसरा बस्नेत, सोही ठाउँ बस्ने २२ वर्षीया रिमा भण्डारी रहेका छन् ।
यस्तै, दाङ तुल्सीपुर नपा–१५ निवासी ४६ वर्षीय हेमराज गिरि, सोही ठाउँ बस्ने १५ वर्षीय कर्ण बहादुर विक घाइते भएको प्रहरीले जनाएको छ । यस्तै रोल्पाका ३९ वर्षीया रेखा विक, रोल्पाकै ४९ वर्षीय धनविर विक, १८ वर्षीया मनिषा विक, रोल्पाकै १८ वर्षीया धनमाया वली, ३९ वर्षीया रतिकला विक, ४५ वर्षीय जसमृति विक, ४ वर्षीया विन्दु विक, ३९ वर्षीया शशिनिरा विक, २८ वर्षीया खुमा केसी, ५ वर्षीय जिवन केसी पनि घाइते भएका छन् ।
दुर्घटनामा परि घाईते मध्ये १० जनाको कान्तिपुर मेडिकल हल श्रीनगरमा र ९ जनाको अधिकारी बन्धुको क्लिनिकमा उपचार भइरहेको छ । घाईते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । तिव्र गतिमा रहेको बस ब्रेक फेल भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक भरत कुमार विकले जानकारी दिए । बसमा ३५ जना यात्रु सवार थिए ।
दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय सितलपाटीबाट गएको प्रहरी टोली र स्थानीयले घाइतेहरुको उद्धार गरेका थिए । दुर्घटनापछि चालक तथा सहचालक फरार रहेको र उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनापछि बस सडकमै पल्टिएकोले सल्यान रुकुम सडक खण्ड केही समयका लागी अवरुद्ध भएको थियो ।












प्रतिक्रिया