२२ कार्तिक २०८३, आइतबार

गरिब विद्यार्थीलाई विद्यालय पठाउन बाँकेमा गरियो यस्तो रचनात्मक कार्य

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– आकाश देबकोटा
बाँके, ८ मंसिर । विद्यालय जान नपाएका र बिचमै विद्यालय छोडेका नेपालगञ्जका गरिब बस्तीका बालबालिकालाई विद्यालयमा भर्ना गराउने उद्देश्यले ‘सँगै पढौँ, सँगै सिकौँ’ अभियान संचालन गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको बेलासपुरमा रहेको चिडिमार समुदायका धेरै बालबालिकाहरु अझैपनि विद्यालय जानबाट बन्चित रहेको पाईएपछि सो समुदायलाई लक्षित गरेर पहिलो पटक यो अभियान संचालन गरिएको सेभ द चिल्ड्रेनले जनाएको छ । बाँके युनेस्को क्लबद्धारा जिल्ला शिक्षा कार्यालयको समन्वयमा संचालन गरिएको सहयात्रा परियोजना अन्तर्गत सो अभियान संचालन गरिएको हो ।

उक्त अभियान अन्तर्गत धम्बोझी माविका १६ जना प्लस टु अध्ययन गर्ने विद्यार्थीले चिडिमार समुदायका १६ जना बालबालिकालाई प्रति विद्यार्थीले एक जना बालक वा बालिकालाई उनकै घरमै गएर ३ महिनासम्म एकदेखि दुई घण्टासम्म पढाउने छन् । तीन महिनापछि ती बालबालिकालाई विद्यालयमा भर्ना गराईने छ ।

सो अभियान सफल भएमा उक्त अभियानलाई नगरका अन्य गरिब बस्तीमा पनि संचालन गरिने बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले बताए । उनले ती बालबालिकालाई पढाउनका लागि ‘मेरो पहिलो विद्यालय’ नामको एक अभ्यास पुस्तिका समेत तयार गरिएको छ । सोही पुस्तिकाकै आधारमा ती बालबालिकालाई पढाइने छ । उक्त अभियान संचालन गर्नका लागि छनोट गरिएका धम्बोझी माविका १६ जना विद्यार्थीलाई तीन दिने सहपाठी सहजकर्ता तालिम दिइएको छ । तालिममा चिडिमार समुदायको बारेमा बिस्तृत जानकारी गराउनुका साथै अभ्यास पुस्तिकाको प्रयोगका बारेमा पनि प्रशिक्षण दिइएको छ ।

तालिमको समापन कार्यक्रममा बोल्दै सेभ द चिल्ड्रेनका कार्यक्रम प्रबन्धक रत्न ओझाले नेपालगञ्ज शहरमा विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय पु-याउन तथा विद्यालय नजाने समस्या कम गर्न निकै चुनौती देखिएपछि यो अभियान संचालन गरिएको बताए । धम्बोझी माविका प्रधानाध्यापक किरण आचार्यले उच्च मनोबलका साथ काम गर्ने हो भने असम्भव केही पनि नभएको बताउँदै अभियान सफल हुने आशा व्यक्त गरे । उनले यो अभियानसँग धम्बोझी माविको प्रतिष्ठा समेत गाँसिएकोले राम्ररी पढाउन विद्यार्थीहरुसँग आग्रह समेत गरे ।

सोही अवसरमा बोल्दै वडा बाल संरक्षण समितिका अध्यक्ष रामु चिडिमारले आफ्नो समुदायका बालबालिकाको शिक्षाका लागि संचालन गरिएको अभियानलाई सफल बनाउन सहयोग गर्न तयार रहेको बताए । तलिममा सहभागी विद्यार्थी समिक्षा रावलले तालिम निकै उपलब्धीमूलक रहेको जनाउँदै चिडिमार समुदायका बालबालिकालाई विद्यालय भर्ना गराउने अभियानलाई पुरा गर्ने प्रतिवद्धता व्यक्त गरिन् । नेपालगन्ज उपमहानगरका ५ वटा गरिब बस्तीलाई लक्षित गरेर क्लबले नगरभरीका सबै सरकारी विद्यालय र केही मदरसामा सहयात्रा परियोजना संचालन गरिरहेको छ ।