काठमाडौँ, ७ मंसिर । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वर्षात सकिएसँगै विकास निर्माणको कामले गति लिएको बताएका छन् । उग्रतारा महिला तथा बाल विकास केन्द्रको काठमाडौँ वडा २५ ढोका बहालमा उद्घाटन गर्दै शाक्यले यस्तो बताएका हुन् ।
‘वर्षात सकिएसँगै काठमाडौँको विकास निर्माणको कामले गति लिएको छ,’ उनले भने, ‘हामीले अहिले काठमाडौँको विकास निर्माणका लागि १ सय १५ वटा कार्यक्रम द्रुत गतिमा अघि बढाएका छौँ । त्यसका लागि एक अर्ब भन्दा बढीको बजेट विनियोजन भएको छ ।’
उनले आफूलाई जनताले मेयर निर्वाचित गरेको भन्दै २४ सै घण्टा जनताको काम गर्न तयार रहेको पनि दाबी गरे । उनले भने, ‘जीवन्त, सुन्दर र समृद्ध शहर बनाउने मेरो योजना निरन्तर अघि बढेको छ । मेलम्ची खानेपानी निर्माण, निर्माण सामाग्री जथाभावी राख्ने जस्ता कारणले अझै हामीले सुन्दर सहर बनाउन सकेका छैनौँ । अब हामी यसमा ध्यान दिन्छौँ ।’
उनले जथाभावी रुपमा सडकमा राखिएका निर्माण सामाग्रीको व्यवस्थापन गर्न आग्रह पनि गरे । ‘निर्माण सामाग्री व्यवस्थित गर्ने कुरामा नीजि घरधनी र व्यवसायी आफैँले ध्यान दिने हो भने राजधानी ‘नो मास्क सिटी’ बन्न कुनै समय लाग्दैन,’ उनले भने ।
उनले स्थानीय विकासका सन्दर्भमा देखिएका समस्या समाधानका लागि जनताले बोलाए जुनसुकै बेला पनि आफू उपस्थित हुने पनि बताए । ‘तपाईहरुले धेरै अपेक्षा गरेर मलाई निर्वाचित बनाएर पठाउनु भएको छ । मनको कुरा मनमै राख्नुभयो भने मलाई थाहा हुँदैन,’ उनले भने, ‘यो काम गर्नुहोस भनेर तपाईहरु आउनुहोला । विकास निर्माणका लागि मलाई सम्झिनुहोला म जुनसुकै बेला तयार छु ।’
कार्यक्रममा काठमाडौँ क्षेत्र नम्बर–७ का बाम गठबन्धन तर्फका उम्मेदवार रामवीर मानन्धरले बाम गठबन्धनको सरकार बनेपछि शिक्षा, स्वास्थ्य, रोगारीको ज्ञारेण्टी हुने दाबी गरे । ‘स्थानीय तहमा एमालेको नेतृत्व छ,’ उनले भने, ‘प्रदेश र संघमा बाम गठबन्धनलाई विजयी बनाएर पठाउनु होला । तपाईहरुको विकासका सपना पूरा हुनेछन् ।’ कार्यक्रममा काठमाडौँ क्षेत्र नम्बर–७ प्रदेशसभा ‘क’का बाम उम्मेदवार वसन्त मानन्धरले पनि बाम गठबन्धलाई विजयी बनाउन आग्रह गरे ।












प्रतिक्रिया