– डिपी दर्माली
बर्दिया, ७ मंसिर । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मिति नजिकिदै जाँदा बर्दियामा एमालेमा प्रवेश गर्नेको ओईरो नै लागेको छ । बर्दियामा दिनदिनै क्रियाशिल पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेहरुको संख्या बढ्दै गएको हो ।
गत बुधबार बर्दियाको गुलरियामा छुट्टा छुट्टै पार्टी प्रवेश कार्यक्रमको आयोजना गरी संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष तोफा यादव, संघीय समाजवादी फोरमका तर्फबाट समानुपातिक उम्मेदवार कान्छा थारु, राप्रपाका पूर्व केन्द्रीय महाधिवेशन प्रतिनिधि केशव पाण्डेलगायत ५ सय बढी नेता तथा कार्यक्रता एमालेमा प्रवेश गरेका हुन् । सिंगो अध्यक्ष लगायत समानुपातिक सहितको टोली नै एमालेमा प्रवेश गरेपछि संघीय समाजवादी पार्टी बर्दिया एमालेमा विलय भएको छ ।
गुलरियामा राप्रपाका पूर्व केन्द्रीय महाधिवेशन प्रतिनिधि केशव पाण्डेको नेतृत्वमा एमाले प्रवेश गर्नेहरुलाई एमालेका वरिष्ठ उपाध्यक्ष एवं बर्दिया १ बाट प्रतिनिधि सभाका उम्मेदवार बामदेव गौतमले स्वागत गरे । त्यसैगरि गुलरिया–२ स्थित संगमबस्तीमा संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष तोफा यादवको नेतृत्वमा प्रवेश गर्नेहरुलाई नेकपा एमाले जिल्ला कमिटि बर्दियाका अध्यक्ष हरि ज्ञवाली, प्रदेश सभा निर्वाचन बर्दिया १ (ख)का उम्मेदवार तिलक शर्मा (हिमाल) र समानुपाति उम्मेदवार धनेश यादवले टिका र माला लगाएर स्वागत गरेका थिए ।
एमाले प्रवेश गर्नेहरुमा संघीय समाजवादी फोरमका तर्फबाट स्थानीय तहको निर्वाचनमा गुलरिया नगरपालिका वडा नम्बर १ मा वडा अध्यक्षमा लडेका राजेन्द्र यादवदेखि तल्लो तह सम्मका कार्यकर्ता र खैरापुरस्थित चौधरी गाउँमा रहेका नेपाली काँग्रेसका कार्यकर्ताहरु गरी ५ सय भन्दा बढी नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेको जिल्ला अध्यक्ष हरि ज्ञवालीले जानकारी दिए ।













प्रतिक्रिया