१२ मंसिर २०८३, शनिबार

मोबाइलमा ‘चिट्ठा’ परेको म्यासेज आएमा के गर्ने ? सीआईबीको यस्तो छ अनुरोध

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० कात्तिक । तपाईको मोबाइलमा कसैले फोन गरेर वा म्यासेजबाट ‘तपाईंलाई ठूलो रकमको चिठ्ठा परेको छ’ तथा ‘तपाईलाई पार्सल पठाएको छु’ भनेर भन्न सक्छ । र त्यो रकम पाउनको लागि निश्चित पैसा जम्मा गर्न पनि अनुरोध गर्न सक्छ । तर नझुक्किनुहोस्, त्यो केही गिरोह वा व्यक्तिको ठगी गर्ने एउटा नयाँ जुक्ति मात्रै हो । त्यस्ता म्यासेज तथा कलबाट नठगीन प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले सचेत गराएको छ ।

पछिल्लो समय विभिन्न विदेशी नम्बरबाट नेपाली नम्बरको मोबाइल तथा विभिन्न अनलाइन म्यासेन्जर भाइवर, ह्वाट्सएपमा कल गरी ‘तपाईंलाई ठूलो रकमको चिठ्ठा परेको छ’ तथा ‘तपाईलाई पार्सल पठाएको छु’ भनी प्रलोभनमा पारी उक्त रकम प्राप्त गर्ने प्रकृयाका लागि नेपालका विभिन्न बैंकको खाता नम्बरहरु दिई उक्त खातामा केही रकम जम्मा गर्न लगाई सो खाताबाट रकम झिकी ठगी गर्ने गिरोह विदेश तथा नेपालभर सकृय रहेको सीआईबीको ठम्याई छ ।

त्यस्ता गिरोहको प्रलोभनमा परी केही व्यक्तिहरुले भने बमोजिमको रकम जम्मा समेत गरिदिई ठगिएको भनी विभिन्न प्रहरी कार्यालयमा तथा केन्द्रीय अनुसन्धान व्यूरोमा समेत उजुरी आएको सीआईबीले जनाएको छ । यसरी विदेशी नम्बर तथा म्यासेज तथा फोनकलमार्फत कोही कसैको प्रलोभनमा नपर्न सीआईबीले अनुरोध गरेको छ । त्यस्तो फोन अथवा म्यासेज आएमा अपराध महाशाखा तथा नजिकको प्रहरी कार्यालयमा उजुरी गर्नसमेत सीआईबीले सबैलाई अनुरोध गरेको छ ।