भैरहवा, २६ कात्तिक । नेकपा एमालेका केन्द्रीय उपहासचिव एवं रुपन्देही क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार घनश्याम भुषाल देशमा रहेको राजनीतिक अस्थिरतालाई तोडन बामगठबन्धन गरिएको बताएका छन । उनले राजनीतिक अस्थिरताले मुलुकलाई अगाडी बढन नदिने महसुस गरेर बामपन्थी दलहरु एकजुट भएको बताएका छन् ।
एमाले र माओवादी केन्द्र रुपन्देही क्षेत्र नं. ३ सिद्धार्थनगरको संयुक्त प्रचारप्रसार कार्यालयको उदघाटन गर्दै भुषालले भारतले गरेको अघोषित नाकाबन्दीको बेला बेलहियाका जनताले देखाएको साहस प्रशंसनीय रहेको बताए । उनले निर्वाचन पश्चात बन्ने बामपन्थी नेतृत्वको स्थिर सरकारले देशमा सुशासनको ग्यारेण्टी गर्ने दावी गरे । “मुलुक र जनताले धेरै दुःख पाइसके, तर अब बामपन्थी नेतृत्वको सरकारले जनताले पाएको दुःख अन्त्य गर्नेछ,” उनले भने ।
त्यस्तै माओवादी केन्द्र रुपन्देहीका जिल्ला सह–संयोजक एवं क्षेत्र नं. ३(१) प्रदेशसभा सदस्यका उम्मेदवार विश्वास बराल(अनुप)ले लोकतान्त्रिक गठबन्धनले जनतामाझ विभिन्न खालका भ्रमहरु छरेकोले त्यसलाई चिर्नुपर्ने बताए । उनले लोकतान्त्रिक गठबन्धनले पराजित मानसिकताका साथ अधिनायकवादको कुरा गरिरहेको बताए । “अरु बेला जनतालाई कहिल्यै नसम्झनेहरुले यतिबेला सडक, नाला, खानेपानी, एम्बुलेन्सको प्रलोभन दिइरहेका छन तर अब जनताले सबैको चरित्र बुझिसकेका छन,” उनले भने ।
कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य एवं पूर्व भूमिसुधार मन्त्री हकिकूल्ला खाँले बामपन्थी शक्तिले देशलाई पुँजीवादी समाजवादी क्रान्तिमा लैजान चाहेको बताए । कांग्रेस–राप्रपाले लोकतन्त्रको पाठ सिकाउन जरुरी नरहेको उनको भनाइ थियो ।
त्यस्तै, एमाले नेता एवं क्षेत्र नं.३(२) प्रदेशसभा सदस्यका उम्मेदवार तुलसी चौधरीले अहिलेको समयमा गाउँगाउँमा बामगठबन्धन र लोकतान्त्रिक गठबन्धन बीच तुलना भइरहेको बताए । उनले बामपन्थीहरुले कहिल्यै पनि झुटको राजनीति नगरेको बताए । कार्यक्रम संयुक्त निर्वाचन परिचालन समिति क्षेत्र नं. ३(१) का सह–संयोजक चोपलाल आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।












प्रतिक्रिया