बर्दिया, २६ कात्तिक । आगामी मंसिरमा हुने दुई चरणको निर्वाचन सुरक्षार्थ खटिने म्यादी प्रहरी छनौटमा मनपरी भएको छ ।
करिव २ महिने म्यादी प्रहरी भर्नामै नेपाल प्रहरीले मनपरी गरेको हो । बर्दिया जिल्लाका लागि आवश्यक म्यादी प्रहरीको संख्या भन्दा ७ गुणा बढीको आवेदन दर्ता भएपछि योग्य ब्यक्ति छनौट गर्ने अवसर मिलेको भएता पनि म्यादी प्रहरी छनौटमै बर्दिया प्रहरीले मनोमानी गरेको हो ।
बर्दिया जिल्लाका लागि आवश्यक १५ सय १४ जना म्यादी प्रहरीमा भर्ना हुनका लागि करिव ७ हजार निवेदन दर्ता भएको थियो । गत कार्तिक ६ गते देखि म्यादी प्रहरी भर्ना अभियान चलाएको जिल्ला प्रहरी कार्यालय बर्दियाले १० गते सम्म भर्ना हुने म्यादी प्रहरीको नतिजा सार्वजनिक गर्ने कार्यतालिका सार्वजनिक गरेको भएता पनि हाम्रा होईन हाम्रा मान्छे भर्ना गर्ने भन्दै अन्तिम नतिजा निकाल्न करिव ३ दिन पछि सारेको थियो ।
म्यादी भर्नाका लागि प्रहरीले उचाई, तौल, दौड, सेटअप र पुसअप लगायतका शारीरिक परिक्षण र अभ्यास गराएको थियो । हाल उक्त शारीरिक परिक्षण र अभ्यासमा अयोग्य भएकाहरु म्यादी भएका छन भने केही त शारीरिक परिक्षणमै सहभागि नभएकाहरु म्यादी भएका छन् । स्थानीय तहको निर्वाचनका लागि र प्रतिनीधि तथा प्रदेश सभाको निर्वाचनका लागि म्यादी भर्नाका लागि गराईने शारीरिक अभ्यासमा उत्कृष्ट भएका सागर घर्ति मगर अन्तरवार्ताका नाममा दुबै पटक फलिएको गुनासो गरे । शारीरिक अभ्यासमा प्रथम भएकाहरु फालिएपछि म्यादी प्रहरी भर्नामै प्रहरीको मनपरि भएको खुलासा भएको हो ।
भर्ना छनौटको क्रममा शारीरिक अभ्यास सकिएपछि प्रहरीले सबैलाई गेट बाहिर धपाएर प्रहरी मात्रै बसी शारीरिक अभ्यासमा फालिएकाहरुको एकान्तमा बसेर यसरी प्रवेशपत्र खोजी गरी पास गराउने समेत गर्दथे । शारीरिक अभ्यासमा प्रथम भएकाहरु प्रहरीसंगको सेटिंग नमिलेपछि अन्तरवार्ताको नाममा तीन दिन सम्म नतिजा कुरेका योग्य ब्यक्तिहरु रुँदै रुँदै घर फर्कन बाध्य हुुनुपर्यो ।
आवश्यक संख्या कम र आवेदन बढी भएका कारण छनौट गर्न समस्या भएपनि योग्य ब्यक्ति छान्न पाउने अवसर मिलेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक जनक भट्टराईले बताउँदै आएका छन् ।
प्रहरी उपरिक्षकले यसो बताएको भएता पनि अन्तरवार्ताको अन्तिम नजिता प्रकाशन गर्न पटक पटक मिति सारेर आवेदकहरुलाई करिव ३ दिन सम्म कुराएका थिए । १२ गतेबाट म्यादीको तालिम सुरु हुने कार्यतालिका भए पनि सेटिंग अनुसार नतिजा निकाल्नुपरेकोले केहि दिन ढिला भएको थियो । यसरी म्यादी प्रहरीमै राम्रा होईन हाम्रा मान्छे छनौट हुनुले उनीहरुले गर्ने डिउसी प्रती प्रश्न खडा भएको छ ।















प्रतिक्रिया