तनहुँ, २६ कात्तिक । नेकपा एमाले प्रदेश नम्बर क्षेत्र ४ का संयोजक एवं पूर्व मन्त्री किरण गुरुङले चुनावलाई प्रभावित पार्नका लागि विभिन्न सञ्चार माध्यममा आएको नेकपा एमाले र माओबादी केन्द्रबीच पार्टी एकता सम्बन्धि समाचार भ्रामक रहेको भन्दै खण्डन गर्नुभएको छ ।
वाम गठबन्धनका तर्फबाट तनहुँ निर्वाचन क्षेत्र नम्बर २ मा प्रदेश सभातर्फका उम्मेदवार गुरुङले एमाले तनहुँले घिरिङ गाउँपालिकाको ध्येनुङ देउरालीमा आयोजित बिशाल जनसभालाई सम्बोधन गर्दै चुनाबसंग डराउनेहरुले जनतालाई झुक्याउन र षड्यन्त्रको जालो बुन्नको लागि गलत प्रचार गरिरहेको बताउनुभयो ।
उहाँले एमाले र माओबादीको चुनावी तालमेलका कारण चुनावसंग भाग्न खोज्नेहरुले नै जनतालाई भ्रमित पार्ने काममा लागिपरेको बताउनुभयो । गुरुङले यस्ता गलत कार्यप्रति सचेत रहँदै चुनावी महाअभियानमा सहभागी बनी गलत समाचारको पछि नलाग्न सबैमा आग्रह गर्नुभयो । उहाँले चुनाब सक्रिय लगत्तै माओवादी केन्द्र र एमालेबीच पार्टी एकता हुने समेत बताउनुभयो ।













प्रतिक्रिया