– कृष्ण ओली
बाजुरा, २५ कात्तिक । २०६४ साल यताको निर्वाचन परिणाम हेर्दा जिल्लामा नेपाली काँग्रेस र नेकपा एमाले बीच कडा प्रतिस्पर्धा देखिएको छ । २०६४ मा काँग्रेसका देवराज जोशीले ८ सय मत अन्तरले जितेका थिए, भने २०७० मा एमालेका कर्णबहादुर थापाले ४ हजार बढी मत अन्तरले जितेका थिए ।
माओवादी तेस्रो स्थानमै सीमित छ । जितको अन्तर जतिभएपनि दुबै निर्वाचनमा काँग्रेसले १८ हजारको हाराहारीमा मत ल्याएको छ । पहिलो संविधान सभा निर्वाचनमा माओवादीले १३ हजार मत ल्याएपनि दोस्रो चुनावमा आईपुग्दा ५६९१ मतमा झरेको थियो ।
स्थानीय तह निर्वाचनमा माओवादी झनै खस्केको छ । भने काँग्रेस एमालेको मतमा झिनो अन्तर छ । नौ स्थानीय तह मध्ये ६ काँग्रेस र ३ मा एमालेले जितेको छ । तर मतको संख्या हेर्दा ६३४ मत काँग्रेसको बढी छ ।
स्थानीय तह निर्वाचनमा काँग्रेसले २३२०३, एमालेले २२५६९, माओवादीले ३९५६, राप्रपाले १२०, नयाँ शक्तिले ८९ र स्वतन्त्रले ४० ल्याएको देखिन्छ । स्थानीय तहको मत जोड्दा बाम गठबन्धनको २६५२५ र लोकतान्त्रिक गठबन्धनको २३४१२ मत छ ।
स्थानीय तहको मत जोड्दा बाम गठबन्धन ३११३ मतले अगाडि छ, भने २०७० को मत जोड्दा १० हजार २४ मतले अगाडि छ । यो परिणाम हेर्दा जितका लागि माओवादीको मत निर्णायक हुने देखिन्छ ।
१ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको जिल्लामा २ प्रदेश र १ प्रतिनिधि सभामा एमालेकै उम्मेदवार उठेका छन् । त्यस कारण पनि जितका लागि माओवादीका मत निर्णायक हुने विश्लेषण गर्न थालिएको छ ।
बाम गठबन्धनको तर्फबाट एमाले केन्द्रीय सदस्य लालबहादुर थापा प्रतिनिधि सभा र बैकल्पिक केन्द्रीय सदस्य प्रकाश शाह, प्रदेश ख र पार्टी सचिव बल्देव रेग्मी प्रदेश क मा उम्मेदवार छन् । माओवादीले सहदेब बोगटी प्रदेश र भरत बुढालाई प्रतिनिधि सभा समानुपातिक उम्मेदवार बनाएको छ ।
काँग्रेसले माओवादीको असन्तुष्टी माथि खेलेर मत संकलन गर्ने र त्यसैको आधारमा जित्ने अनुमान गरेको छ । भने एमालेले बाम गठबन्धनले भने एमालेको बलियो पकड माथि माओवादीको सहयोगले सजिलै जितको आशा गरेको छ ।
५ हजार मतदाता थपिए
स्थानीय तह निर्वाचन भन्दा यो पटक करिब ५ हजारको संख्यामा मतदाता थपिएका छन् । आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा ६९ हजार ८ सय ३४ मतदाताले निर्वाचनमा भाग लिन पाउने छन् ।
स्थानीय तह निर्वाचन २०७४ मा ६४ हजार ९ सय ५० जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी मानबहादुर थापाले बताए । २०७० मा भने ५८ हजार ७ सय ८० मतदाता थिए ।
जिल्लामा हाल ७० वटा मतदान स्थलहरु र १ सय वटा मतदान केन्द्र रहेका छन् । स्थानीय तह निर्वाचनमा भने ९२ वटा मतदान केन्द्र रहेका थिए । यो पटक स्थल नथपिएपनि ८ वटा केन्द्र भने सोही स्थानमा कायम हुने गरी थप गरिएको छ ।
निर्वाचनमा नयाँ अनुहार बाजुरामा यो पटक नयाँ अनुहार बीच प्रतिस्पर्धा हुने भएको छ । काँग्रेसबाट प्रदेश निर्वाचन क्षेत्र ख मा पूर्व भूमिसुधार सहायक मन्त्री जनकराज गिरी बाहेक अरु पाँच जना नयाँ अनुहार हुन् ।
पार्टी राजनीति र स्थानीय निकायको निर्वाचनमा प्रतिस्पर्धा गरेका भएपनि संसदीय राजनीतिमा भने पाँचै जना नयाँ अनुहार हुन् । गिरी बाहेक पाँचै जना उम्मेदवारका लागि यो नै पहिलो चुनाव हो । प्रतिनिधि सभामा काँग्रेस जिल्ला सभापति कविराज पण्डित छन् भने बाम गठबन्धनबाट एमाले केन्द्रीय सदस्य लालबहादुर थापा छन् । थापा यस अघि २०५४ सालमा जिल्ला विकास समितिको सभापति समेत बनेका थिए ।
पण्डितले २०४३ सालदेखि राजनीति सुरु गरेका हुन् । २०४४ सालमा नेविसंघमा आवद्ध भई २०५१ सालमा नेविसंघको केन्द्रीय सदस्य र त्रिवि स्ववियु सचिव समेत बने । भने २०५५ सालमा तरुण दल जिल्ला अध्यक्ष बनेका थिए ।
नेविसंघ बाजुरा काठमाडौं सम्पर्क मञ्चको संस्थापक कोषाध्यक्ष समेत रहेका पण्डित २०५७ सालदेखि हालसम्म महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य बन्दै आएका छन् । भने २०७२ सालमा पार्टी सभापति बनेका हुन् ।
बाम गठबन्धनमा उम्मेदवार थापाले २०४४ सालदेखि राजनीति सुरु गरे । अनेरास्ववियुबाट राजनीति सुरु गरेका थापा २०४७ सालमा नेपाल ल क्याम्पस काठमाडौंको प्रारम्भिक कमिटी उपाध्याय बने । २०४८ साल नेकपा एमाले बाजुरा काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष भए ।
२०५३ सालमा पार्टी जिल्ला कमिटी बाजुरा सचिव र २०५४ जिल्ला विकास समितिको सभापति बने । २०६९ सालको छैटौ जिल्ला अधिवेशनबाट पार्टी अध्यक्ष बनेका थापा २०७१ सालमा सम्पन्न नेकपा एमालेको नवौ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य बने । र हाल बाजुरा जिल्ला इन्चार्ज समेत छन् ।
पण्डित र थापा दुबैको कानुनको विद्यार्थी हुन् । बाजुरामा पनि लामो समय देखि पार्टी राजनीतिसँगै वकालती काममा सक्रिय छन् । जिल्ला बारमा समेत सँगै भएर काम गरेको अनुभव दुबैसँग छ ।
यस्तै प्रदेश निर्वाचन क्षेत्र क का काँग्रेस उम्मेदवार जनकराज गिरी भूमिसुधार सहायक पूर्व मन्त्री हुन । २०४० सालदेखि काँग्रेस राजनीतिमा सक्रिय छन् । कैलाली बहुमुखी क्याम्पसबाट राजनीति सुरु गरे । नेपाल शिक्षक संघ बाजुराको संस्थापक सभापति । २०४८ सालदेखि महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य बन्दै आएका छन् । २०५६ सालको निर्वाचनमा विजयी र २०५८ सालमा भूमि सुधार सहायक मन्त्री बनेका गिरी यो पटक सर्वसम्मत उम्मेदवार बनेका थिए ।
प्रदेश निर्वाचन क्षेत्र क का बाम गठबन्धनका उम्मेदवार बल्देव रेग्मी पार्टी सचिव छन् । उनको चुनावको यो पहिलो अनुभव हो । २०४७ सालबाट राजनीति यात्रा सुरु गरेका रेग्मी अनेरास्ववियु बाजुराको संस्थापक सदस्य र २०५० सालमा भएको पहिलो अधिवेशनबाट उपाध्यक्ष बनेका थिए ।
२०५२ सालमा बाजुरा काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष बनेका रेग्मी सेती काठमाडौं सम्पर्क मञ्चको सदस्य बनेका थिए । भने २०५६ सालमा कोल्टी गाउँ कमिटी अध्यक्ष र २०५८ सालमा इलाका नम्बर ५ को इलाका कमिटी सचिव बने । द्धन्द्धको समयमा तत्कालिन पार्टी सचिव सरोदर दाजु ताराचन्द्र रेग्मीको माओवादी पक्षबाट हत्या भएपछि उनको राजनीतिक सक्रियता बढ्यो । २०६० सालमा जिल्ला कमिटी सदस्य बने भने २०६६ सालदेखि पार्टी सचिवको भूमिकामा छन् ।
प्रदेश निर्वाचन क्षेत्र ख का काँग्रेस उम्मेदवार पदम शाही काँग्रेस जिल्ला तहका नेता मध्ये पदम शाही पुराना हुन् । २०३८ सालदेखि राजनीतिक यात्रा सुरु गरेका शाही २०४० नेविसंघको केन्द्रीय प्रतिनिधि र नेविसंघ बाजुरा काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष बनेका थिए ।
२०४२ सालमा सत्याग्रहमा सक्रिय भूमिका खेलेका शाहीले २०४८ सालदेखि महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य बन्दै आएका छन् । २०४९ र २०५४ सालमा जिल्ला विकास समिति सदस्य समेत बने । शाही काँग्रेबाट टिकट नपाएपछि २०७० सालको निर्वाचनमा माओवादीमा प्रवेश गरेका थिए ।
यस्तै प्रदेश निर्वाचन क्षेत्र ख का बाम गठबन्धनका उम्मेदवार प्रकाश शाह नेकपा एमाले केन्द्रीय बैकल्पिक सदस्य हुन् । १ वर्षको उमेरमै बाबुले छोडेपछि आमा र दाईको साहरामा हुर्केका शाह २०४६ सालदेखि राजनीतिमा सक्रिय छन् ।
अनेरास्ववियुबाट राजनीति सुरु गरेका शाह २०५० सालमा अनेरास्ववियु बाजुराको संस्थापक अध्यक्ष हुन् । २०५६ सालमा पार्टी विभाजित हुँदा मालेको पार्टी सचिव बने । २०६६ सालमा एमालेको जिल्ला अध्यक्ष निर्वाचित भएभने २०७१ सालमा नेकपा एमालेको नवौ महाधिवेशनबाट बैकल्पिक केन्द्रीय सदस्य बने भने हाल अछाम जिल्ला इन्चार्ज समेत छन् ।
तीन प्रतिद्वन्द्वी एक ठाउँमा
बाम उम्मेदवारलाई जिताउन बाजुरामा २०७० को दोस्रो संविधानसभा चुनावमा प्रमुख पार्टीबाट उम्मेदवार बनेका तीनैजना उम्मेदवार एक ठाउँमा छन् । २०७० मा एमालेबाट २२४५८ मत ल्याएर निर्वाचित भएका कर्णबहादुर थापा, सहीत १८१२५ मत ल्याएर दोस्रो भएका काँग्रेस उम्मेदवार मनबहादुर रावल र ५६९१ मत ल्याई तेस्रो स्थानमा रहेका माओवादीका सहदेब बोगटी अहिले बाम गठबन्धनको पक्षमा भोट मागिरहेका छन् ।
मनबहादुर रावलले असोज १८ गते काँग्रेस छोडेका हुन् । २५ वर्षसम्म कांग्रेस बाजुराको सभापति भएका रावल कांग्रेसबाट लोकतन्त्रको रक्षा हुन नसक्ने भन्दै एमाले प्रवेश गरेका थिए ।
सबैका समृद्धीका योजना
समग्रका सबै उम्मेदवारले समृद्धीको योजना अघि सारेका छन् । जनतालाई सुनाउने र भाषणमा बोल्ने सबै अजेण्डा विकास, समृद्धी र परिवर्तनसँग सम्बन्धीत छन् । प्रतिनिधि सभाका बाम गठबन्धनका उम्मेदवार लालबहादुर थापाले जिल्लालाई दुर्गमताको परिचयबाट मुक्त गर्न उम्मेदवारी दिएको बताएका छन् ।
उनले समृद्ध नेपाल निर्माण, सामाजिक साँस्कृतिक, रुपान्तरण र गुणस्तरी, सन्तुलित र न्यायीक विकास, ५ वर्षभित्र जिल्लाका ६९ वटै वडामा सडक पुर्याउने र पाँच वर्षभित्र अँध्यरो मुक्त बाजुरा निर्माण गर्ने संकल्प लिएको बताए ।
यस्तै काँग्रेसको तर्फबाट प्रतिनिधि सभा उम्मेदवार कविराज पण्डितले लोकतन्त्र र संविधानको रक्षाका लागि उम्मेदवारी दिएको बताएका छन् । उनले संविधान कार्यान्वयन लोकतन्त्रको संस्थागत विकास, शान्ति र स्थिरता कायम गर्न, जिल्लाको सन्दर्भमा यातायात, स्वास्थ्य र शैक्षिक क्षेत्रको गुणस्तर सुधारका साथै युवा बेरोजगारलाई स्वरोगार मुखि कार्यक्रम सञ्चालन गर्नु जित पछिको पहिलो काम हुने बताए ।
प्रदेश निर्वाचन क्षेत्र क का बाम गठबन्धनका उम्मेदवार बल्देव रेग्मीले भोक गरिबी र अज्ञानता हटाउनु, सडक निर्माण, विजुली र पर्यटन क्षेत्रको विकास र जडिबुटीको प्रवद्र्धन गर्नु र कोल्टी क्षेत्रलाई जैतुन जोन र युवा रोजगारीका लागि स्याउ उत्पादनको पकेट बनाउने योजना अघि सारेका छन् ।
प्रदेश निर्वाचन क्षेत्र क का काँग्रेस उम्मेदवार जनकराज गिरीले कर्णाली करिडोर चीन र भारतको सम्बन्ध विस्तारका रुपमा विकास गर्नु, महँगो खर्चमा मानसरोव जाने यात्रुहरुका लागि प्रमुख पर्यटीकय मार्ग बनाउनु, पादुका क्षेत्रलाई पर्यटनको हबका रुपमा विकास गर्नु र वाईमा चीन र भारतको ड्राइपोट सुख्खा बन्दर्गाको रुपमा विकासको खाका तयार पार्ने योजना बनाएका छन् ।
प्रदेश निर्वाचन क्षेत्र क का बाम गठबन्धनका उम्मेदवार प्रकाश शाहले समान शिक्षा, सडक विकास, आधुनिक कृषि क्षेत्रको विकास, यूवा जनशक्तिको व्यवस्थापन गर्न स्वरोजगारका कार्यक्रम सिर्जना र बाजुरालाई उज्यालो बाजुरा र उत्पादनको बाजुराका रुपमा परिचित गराउने बताएका छन् ।
प्रदेश निर्वाचन क्षेत्र क का काँग्रेस उम्मेदवार पदम शाहीले प्रत्येक वडा कार्यालयसम्म दुई लेनको पक्की बाटो निर्माण, शिक्षा र स्वास्थ्य सेवा सर्वसुलभ बनाउने र एक छाक खान समेत नपाएकाहरुलाई उचित दाम सहीतको काम जीनव स्तर सुधारका गतिविधि सञ्चालन गर्ने बताएका छन् ।













प्रतिक्रिया