नेपालगञ्ज, २४ कात्तिक । प्रधानन्यायाधीश गोपाल पराजुलीले मुलुकका राजनीतिज्ञले अदालतको विषय सार्वजनिक रुपमा उठाउँदा अदालतप्रति संकुचन, शंका र अनुत्तरदायी व्यवहार प्रदर्शन गर्न नहुनेमा जोड दिनुभएको छ ।
दाङको घोराहीमा शनिबार आयोजना हुने जिल्ला अदालत भवन निर्माण शिलान्यास समारोहमा सहभागी हुन जाने क्रममा आज नेपालगञ्ज आउनुभएका प्रधानन्यायाधीश पराजुलीले रासससँगको भेटमा भन्नुभयो, “अदालतप्रति व्यक्त गरिने नकारात्मक अभिव्यक्तिले आमजनतामा भ्रम सिर्जना हुने भएकाले राजनीतिक दल र तिनका नेताहरु संवेदनशील हुनु जरुरी छ ।”
अदालतमा अहिले न्याय सम्पादनको अवस्था कस्तो छ भनी राससले सोधेको प्रश्नका जवाफमा उहाँले आफू सर्वोच्च अदालतको नेतृत्वमा आएपछि आफूले प्रस्तुत गरेको ३९ बुँदे सुधार योजनाको मार्गचित्रअनुसार न्याय सम्पादनको गतिलाई सहज, सरल र प्रभावकारी बनाइएको बताउनुभयो ।
सर्वोच्च अदालतमा मात्र मुद्दाको चाङ देखिएको तर मोफसलका अदालतको त्यो अवस्था नरहेको बताउँदै प्रधानन्यायाधीश पराजुलीले अदालतका न्यायाधीशले अहिले अतिरिक्त काम गर्नुपर्ने व्यवस्थासमेत तय गरिएकाले विस्तारै मुद्दाको अनुपातमा न्याय सम्पादन हुँदै जानेछ भन्नुभयो ।
अर्को एक प्रश्नको जवाफमा उहाँले राज्यको इच्छाशक्तिका आधारमा अहिलेको राज्य संरचनानुसार न्यायालयको भौतिक पूर्वाधारलाई विस्तार गर्दै लान सकिने भएकाले यसतर्पm सरकारले सोच्नुपर्नेमा जोड दिनुभयो । “अदालत पद्धति, प्रणाली र विधिबाट सञ्चालन हुन्छ, तसर्थ समयसापेक्ष अदालतको प्रशासनिक काम, कारबाही एवं न्याय सम्पादन प्रक्रिया थप चुस्त बनाउनुपर्ने अहिलेको चुनौती छ”, उहाँको भनाइ थियो ।
प्रधानन्यायाधीशसँगै रहनुभएका न्यायपरिषद्का सदस्य नहकुल सुवेदीले मुद्दाको म्याद थप प्रक्रियालाई अहिले अदालतले भिडियो कन्फ्रेन्सको विधिबाट सञ्चालनसमेत गर्दै आएको बताउँदै त्यसका लागि प्रहरीसँग समन्वय कायम गरिएको छ भन्नुभयो ।
यसअघि प्रधानन्यायाधीश पराजुलीले नेपालगञ्जस्थित उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासको निरीक्षण गर्नुभएको थियो । त्यस अवसरमा सो अदालतका वरिष्ठतम न्यायाधीश विष्णुदेव पौडेल र रजिष्ट्रार भुवन गिरीले त्यहाँबाट सम्पादन हुँदै आएको कामका विषयमा प्रधानन्यायाधीशलाई जानकारी गराउनुभयोे ।
यसैगरी उहाँले आजै यहाँस्थित बाँके जिल्ला अदालतको पनि निरीक्षण गरी जनताको न्याय सम्पादन छिटोछरितो सम्पादन गर्न र अदालतको गरिमा उच्च राख्न न्यायाधीश र कर्मचारी इमान्दार र कर्तव्यनिष्ठ हुनुपर्ने निर्देशन दिनुभयो । प्रधानन्यायाधीश पराजुलीलाई सो जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीले त्यहाँबाट भइरहेका कामकारबाहीका विषयमा जानकारी दिनुभएको थियो ।
निरीक्षण टोलीमा न्याय परिषद्का सदस्यद्वय रामप्रसाद सिटौला र सुवेदी तथा सर्वोच्च अदालतका पदाधिकारीको सहभागिता थियो ।रासस












प्रतिक्रिया