लहान (सिराहा), २४ कात्तिक । सिराहामा अझै मतदाता शिक्षा सञ्चालन हुन नसक्दा मतदाता अलमलमा परेका छन् । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति नजिकिँदै गए पनि मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा अधिकांश मतदाता अलमलमा परेका हुन् ।
निर्वाचन मिति नजिकिँदै गर्दा पनि जिल्लाको कुनै पनि स्थानीय तहमा हालसम्म मतदाता शिक्षा कार्यक्रम शुरु हुन सकेको छैन । निर्वाचनप्रति मतदातालाई सचेत र जागरुक बनाउनका लागि सञ्चालन गरिने मतदाता शिक्षाको अभावमा मतदातामा अस्पष्टता र अलमल देखिएको दलका नेता कार्यकर्ताले बताएका छन् ।
‘मताधिकारका विषयमा अहिले मतदाता धेरथोर जानकार छन्’ सिरहाका नेकपा (माओवादी केन्द्र)का नेता रामकुमार यादवले भने, ‘तर पनि मतदाता शिक्षा पर्याप्त मात्रामा पुग्न सकेको छैन । कतिपय मतदाता अन्योलमा देखिन्छन्, मत बदर हुने सम्भावना बढेको छ ।’
निर्वाचन आयोगबाट नमूना मतपत्रलगायतका मतदाता शिक्षा सामग्री आउन ढिलाइ भएकाले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न ढिलाइ भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख इन्द्रा यादवले जानकारी दिइन् । आयोगबाट मतदाता शिक्षा सामग्री आइपुगेकाले अबको तीन दिनभित्रै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने उनले बताइन् । निर्वाचनसम्बन्धी उठ्ने जिज्ञासा र अस्पष्टतालाई समाधान गर्दै मतदातालाई निर्वाचनप्रति उत्प्रेरणा जगाउने गतिविधि सञ्चालनका लागि निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।
मतदाता शिक्षा कार्यक्रममा निर्वाचनमा सहभागी हुन र मतदान गर्न जान प्रोत्साहन गर्ने, मतदाताले निर्वाचनसम्बन्धी राखेका जिज्ञासा र अस्पष्टतालाई स्पष्ट बनाउने, मतको महत्व बुझाएर मतदान गर्न सल्लाह दिने, निर्वाचन प्रणाली र सरकार गठनसम्बन्धी व्यवस्थाबारे स्पष्ट बनाउने, हरेक दलका घोषणापत्र हेर्न आग्रह गर्ने, मताधिकार प्रयोगको गोप्यताका बारेमा आश्वस्त पार्नेलगायत विषयमा जानकारी दिइने गरिन्छ ।
प्रतिनिधि सभाको चार र प्रदेश सभाका लागि आठवटा निर्वाचन क्षेत्र रहेको सिरहामा कूल तीन लाख ४४ हजार ३७० मतदाता छन् । आसन्न निर्वाचनका लागि जिल्लामा ४३६ मतदान केन्द्र निर्धारण गरिएको छ । –रासस












प्रतिक्रिया