दोलखा, २३ कात्तिक । चुनाव नजिकिँदै जाँदा अन्य दल त्याग गरी नेकपा एमाले प्रवेश गर्ने क्रम दोलखा जिल्लामा बढ्दै गएको छ । बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का जिल्ला सचिव पुर्णबहादुर थापासहित ५० जना एमाले प्रवेश गरेका छन् ।
थापाको गृह गाउँ भीमेश्वर नगरपालिका वडा नम्बर ७ कुप्रीमा बिहीबार आयोजित एमालेको चुनावी सभामा थापासहित राप्रपा र नेपाली काँग्रेसका गरी ५० जना नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । एमाले प्रवेश गर्नेहरुमा काँग्रेसका वडास्तरका प्रभावशाली नेताहरु सिताराम शाही, नेत्रबहादुर खड्का, हेमकुमार थापा, निर्मला थापा, नवराज बस्नेत, सुकराज बस्नेतलगायत छन् । त्यसैगरी राप्रपाका वडा कमिटीका बहुमत सदस्यहरु पनि एमाले प्रवेश गरेका छन ।
राप्रपा दोलखाको सचिव पदमा रहेका ६४ बर्षीय पुर्णबहादुर थापा पार्टीको महत्वपुर्ण पदमा बसेर लामो जीवनकाल व्यतित गरिसकेका छन् । लामो राजनीतिक जीवन कालमध्ये आसन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा राप्रपाले काङ्ग्रेस जस्तो प्रतिक्रियावादी, राष्ट्रघाति र देश विकासमा बाधा पु-याउँदै आएको पार्टीसँग सहकार्य गरेकोले आफू जनताको हितमा काम गर्ने पार्टी एमालेमा प्रवेश गरेको थापाले बताए । दुई तिहाई भन्दा बढी बहुमतको सरकार बनाएर समृद्ध नेपाल निर्माण गर्ने बाम गठबन्धनको अभियानमा योगदान पु-याउने अभिप्रायले एमाले प्रवेश गरेको नेता थापाको भनाई छ । उनले आफ्नो बाँकी जीवनकाल एमालेको सक्रिय राजनिति र वडाको विकासमा सर्मपण गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । थापा राजनितिक नेता मात्र नभएर समाजसेवीका रुपमा समेत परिचित छन् ।
थापा लगायत सम्पुर्ण नवप्रवेशीहरुलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्रदेश सभा सदस्य क्षेत्र नम्बर २ दोलखाका उम्मेदवार पशुपति चौँलागाईं, एमाले केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य दोलखाका उम्मेदवार पार्वत गुरुङ लगायतले टिका र माला लगाएर पार्टीमा स्वागत गरेका थिए । भीमेश्वर नगरपालिका वडा नम्बर ७ का कुप्री, उखुबारी र मकैबारीमा भएका चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा बाम गठबन्धनबट प्रदेश सभा सदस्य क्षेत्र नम्बर २ दोलखाका उम्मेदवार चौँलागाँईले देशका अधिकांश स्थानिय तह कम्युनिष्टको नेतृत्वमा रहेकोले प्रदेश र केन्द्रको सरकार पनि कम्युनिष्टहरुको नेतृत्वमा बनाएर मात्र देशको विकास गर्न सजिलो हुने बताए ।
त्यसैगरी चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य दोलखाका उम्मेदवार पार्वत गुरुङले दोलखा जिल्लामा देशलाई नै समृद्ध बनाउन सकिने थुप्रै सम्भावनाहरु रहेकोले ती सम्भावनालाई मुर्त रुप दिनका लागि पनि बाम गठबन्धनका उम्मेद्वारलाई जिताउनु आवश्यक रहेको बताए ।
नेकपा एमाले भिमेश्वर नगरपािलका वडा नम्बर ७ वडा कमिटीका अध्यक्ष नेत्रबहादुर बस्नेतको अध्यक्षतामा भएका चुनावी सभालाई नेकपा एमाले दोलखाका उपसचिव डबल पाण्डे, एमाले प्रदेश सभा क्षेत्र नम्बर २ का इन्चार्ज भरत केसी, एमाले नेतृ कमला बस्नेत, नेकपा माओवादी केन्द्र भिमेश्वर नगर इन्चार्ज मोहन थापा, एमालेका नवप्रवेशी नेता पुर्णबहादुर थापा लगायतले सम्बोधन गरेका थिए ।












प्रतिक्रिया