१५ कार्तिक २०८३, आइतबार

अर्थ, शिक्षा र गृह सचिव रिक्त हुँदै, लोकदर्शन मुख्य सचिव बन्दै

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ कात्तिक । महत्वपूर्ण, शक्तिशाली र आकर्षक मानिएका अर्थ, शिक्षा र गृह मन्त्रालयमा जान सचिवहरूले दौडधुप सुरु गरेका छन् ।

अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदी र शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले पाँच वर्षे सेवाअवधि सकिएकाले कात्तिक २ देखि अवकाश पाएका छन् भने सरकारले आगामी कात्तिक ६ वा ७ मा गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीलाई मुख्यसचिव बनाउने सम्भावना छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

अर्थ र शिक्षा सचिवले बिहीबार अवकाश पाउने भए पनि तिहार बिदा परेकाले बुधबारै बिदा लिइसकेका छन् । तीस मन्त्रालयमध्ये सबैभन्दा आकर्षक मानिएका गृह, अर्थ र शिक्षामा जान सचिवहरूले दौडधुप सुरु गरेका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार कार्यालयका सचिव शंकरप्रसाद अधिकारी भएसम्म मुख्यसचिव र नभए अर्थ सचिव बन्नका लागि तीव्र दौडधुपमा छन्।

अर्थमै जानका लागि मन्त्रिपरिषद् कार्यालयकै केदारबहादुर अधिकारी, सामान्य प्रशासनका मोहनकृष्ण सापकोटा, आपूर्तिका कृष्णप्रसाद देवकोटा, अर्थकै राजस्व सचिव शिशिरप्रसाद ढुंगाना, श्रम तथा रोजगारका लक्ष्मणप्रसाद मैनाली, अख्तियारका राजन खनाललगायतले कसरत गरेका छन्। अर्थ मन्त्रालय ताकेर दौडधुपमा लागेका सबै सचिवको त्यसपछिको लक्ष्य भने गृहसचिव बन्नेछ।

कात्तिक पहिलो साताभित्रै गृह मन्त्रालय खाली हुने सम्भावना रहेपछि अर्थ ताकेर बसेका अधिकारी, सापकोटा, मैनालीका साथै उद्योगका शंकरप्रसाद कोइरालाले त्यहाँ जाने इच्छा राखेका छन् । गृहका लागि दौडधुप गरिरहेका सचिवहरूले शिक्षा मन्त्रालयको सचिवका लागि समेत मरिहत्ते गरिरहेका छन्।

प्रशासन सेवाको तीनवटा सचिव रिक्त भएपछि वरिष्ठ सहसचिवको छिट्टै सचिव बन्ने ढोका खुल्ने भएको छ। तीनमध्ये एक जना ज्येष्ठताका आधारमा सिफारिस हुने छन् भने बाँकी दुई जनाका लागि तेब्बर संख्यामा सिफारिस गर्नुपर्ने प्रावधानअनुसार ६ जना वरिष्ठ सहसचिव सिफारिसमा पर्ने भएका छन्।

कात्तिक २ देखि रिक्त हुन लागेको शिक्षा र अर्थका लागि लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा रहने सचिव बढुवा सिफारिस समितिले ६ जना वरिष्ठ सहसचिवलाई सिफारिस गर्नुपर्नेछ। यसो गर्दा वरिष्ठ सहसचिवहरू अनिलकुमार ठाकुर, शंकरप्रसाद पाठक, सुरेश प्रधान, लक्ष्मीराज पौडेल, बुद्धिबहादुर खड्का, वैकुण्ठ अर्याल, रामप्रसाद थपलिया, यादवप्रसाद कोइरालामध्येबाट सिफारिस हुनसक्ने सामान्य प्रशासन स्रोतले जनाएको छ।